भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडौं, ६ साउन । इरानसँग जारी सैन्य द्वन्द्वमा अमेरिकाले हालसम्म करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको जनाएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सिनेटको विनियोजन (Appropriations) समितिमा बोल्दै यो जानकारी दिएका हुन्।

हेगसेथका अनुसार आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम, सैनिकको तयारी तथा अन्य महत्वपूर्ण रक्षा कार्यक्रम प्रभावित हुन सक्नेछन्। उनले अमेरिकी रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेका छन्।

प्रस्तावित बजेटमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य परिचालन र अभियानका लागि खर्च गर्ने योजना रहेको जनाइएको छ।सिनेटमा भएको सुनुवाइका क्रममा युद्धविरोधी प्रदर्शनकारीहरूले बैठकमा पटक–पटक अवरोध गर्दै इरान र प्यालेस्टाइनमा बमबारी रोक्न माग गरेका थिए।

यो बजेट प्रस्ताव मध्यपूर्वमा हालै भएका आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि आएको हो। रक्षामन्त्री हेगसेथले अमेरिका आफ्ना रणनीतिक प्रतिद्वन्द्वीभन्दा कमजोर हुन नहुने भन्दै रक्षा क्षेत्रमा थप लगानी आवश्यक रहेको बताए।

उनले बजेट स्वीकृत नभए सैनिकको पारिश्रमिक, आवश्यक हतियार तथा गोलाबारुदको मौज्दात कायम राख्न र महत्वपूर्ण सैन्य अभियान सञ्चालन गर्न कठिनाइ हुने चेतावनी दिए।

यता विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले भने प्रस्तावित बजेटको विरोध गरेका छन्। सिनेटर किर्स्टन गिलिब्रान्डले अमेरिकी नागरिक आर्थिक समस्यासँग जुधिरहेका बेला युद्धका लागि अर्बौं डलर थप माग्नु उचित नभएको टिप्पणी गरिन्। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा सफलता हासिल भएको दाबी गरिरहेकै अवस्थामा थप बजेट किन आवश्यक परेको हो भन्ने प्रश्न पनि उठाइन्।

यसको जवाफमा रक्षामन्त्री हेगसेथले राष्ट्रिय सुरक्षाका लागि आवश्यक हतियार र स्रोतसाधन जुटाउन बजेट अपरिहार्य रहेको बताए।अमेरिकी रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। साथै, अमेरिकी संसदको तल्लो सदन बिदामा जान लागेकाले पेन्टागनले माग गरेको बजेट स्वीकृत हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

काठमाडौं, ४ साउन । अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किँदै जाँदा द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजहरूको सुरक्षालाई ध्यानमा राख्दै इरानमाथि लगातार नवौँ रात हवाई आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार इरानबाट हुन सक्ने सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न उक्त कारबाही गरिएको हो ।

इरानका स्थानीय सञ्चारमाध्यमहरूले भने निर्माणाधीन डार्खोभिन आणविक ऊर्जा केन्द्र आसपासका क्षेत्रमा अमेरिकाले कैयौँ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

साथै समुद्री नाकाबन्दी कडाइका साथ लागू गर्ने क्रममा अमेरिकी सेनाले केही व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको र एउटा जहाजलाई निष्क्रिय बनाएको पनि ती सञ्चारमाध्यमहरूको दाबी छ ।

यसैबीच, उत्तरी इराकमा खसालिएको इरानी ड्रोनको बम निष्क्रिय पार्ने क्रममा भएको विस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । यससँगै इरानसँगको जारी द्वन्द्वमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १७ पुगेको जनाइएको छ ।

द्वन्द्व अन्त्यका कूटनीतिक प्रयास प्रभावकारी हुन नसकिरहेका बेला दुवै पक्षबीच आक्रमण तीव्र बन्दै गएको छ । यसले पश्चिम एसियामा सुरक्षा चुनौती अझ गम्भीर बनेको विश्लेषण गरिएको छ ।

काठमाण्डौ, २१ जेठ । अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ।

युद्ध नगर्ने विषयमा भएको मतदानमा २१५ मध्ये २०८ मतले प्रस्ताव पारित भएको हो। चार रिपब्लिकन सांसदले समेत प्रस्तावको पक्षमा मतदान गरेका थिए।

यो प्रस्ताव पछिल्ला महिनाहरूमा इरान–अमेरिका तनाव र युद्ध विस्तारको सम्भावनालाई लिएर गरिएको राजनीतिक प्रयासको हिस्सा हो। आलोचकहरूले ट्रम्प प्रशासनले कांग्रेसको स्वीकृति बिना सैन्य कारबाही विस्तार गर्न खोजेको आरोप लगाएका छन्।

तर यो प्रस्ताव तत्काल कानुन बन्ने छैन। यसको लागि माथिल्लो सदन अमेरिकी सिनेट को स्वीकृति आवश्यक हुन्छ। त्यसपछि पनि राष्ट्रपतिले भिटो प्रयोग गर्न सक्ने भएकाले अन्ततः लागू हुन दुवै सदनमा दुई तिहाइ बहुमत चाहिन्छ।

युद्धविराम भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण जारी रहेको बताइएको छ।

तेहरान, १३ जेठ । अमेरिका र इरानबीच जारी तनाव फेरि चर्किएको छ। इरानले अमेरिकाले आफ्नो भूमिमाथि नयाँ हवाई आक्रमण गरेर युद्धविरामको ‘गम्भीर उल्लङ्घन’ गरेको आरोप लगाएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सोमबार दक्षिणी इरानमा इरानी क्षेप्यास्त्र अखडा तथा खानीहरू राख्न प्रयोग भइरहेका डुङ्गाहरूलाई लक्षित गर्दै ‘आत्मरक्षाका लागि सीमित आक्रमण’ गरिएको जनाएको छ।

इरानको परराष्ट्र मन्त्रालयले भने होर्मोजगान क्षेत्रमा भएको यो कदमलाई ‘आक्रामक र अनुचित’ भन्दै यसको परिणामको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिएको छ। रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज नजिकको क्षेत्रमा भएको यो घटनाले विश्व ऊर्जा बजारसमेत प्रभावित हुने चिन्ता बढाएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इरानको इस्लामिक गणतन्त्रले कुनै पनि दुष्ट गतिविधिको जवाफ नदिई छोड्ने छैन र आफ्ना नागरिकको सुरक्षामा कुनै सम्झौता गर्ने छैन।”

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण भएपछि सुरु भएको युद्ध अप्रिल ८ मा युद्धविराम सहमतिमा पुगेको थियो। यद्यपि, सोमबारको घटनाले फेरि तनावलाई उत्कर्षमा पुर्‍याएको छ। सेन्टकमले आफ्ना सैनिकमाथि हुन सक्ने सम्भावित खतरालाई रोक्न आक्रमण गरिएको दाबी गरे पनि सटीक स्थान खुलाएको छैन। अमेरिकी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास नजिकको क्षेत्र निशानामा परेको हुनसक्ने बताइएको छ।

इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास क्षेत्रमा ठूला विस्फोटका आवाज सुनिएको जानकारी दिएका छन्। त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी ड्रोन खसालेको तथा एउटा फाइटर जेटमाथि फायर गरिएको दाबी गरेको छ।यो घटनाक्रम भइरहँदा युद्धविराम लम्ब्याउने तथा दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता जारी रहेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले सम्झौता सम्भव रहेको तर अझ केही समय लाग्ने बताएका छन्।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा सम्झौता नजिक पुगेको संकेत गरे पनि पछि आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको खुलासा गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित समझदारीमा ६० दिन युद्धविराम थप्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समेटिएको छ।

इरानले भने वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्काल सम्झौता हुने अवस्था नरहेको स्पष्ट पारेको छ। तेहरानले विदेशमा रोक्का राखिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने मागलाई मुख्य प्राथमिकता बनाएको छ। हाल कतारको दोहामा कतारी मध्यस्थकर्तामार्फत वार्ता जारी रहेको बताइएको छ। इरानी केन्द्रीय बैंकका गभर्नरले पनि सोमबारको छलफलमा भाग लिएर रोक्का सम्पत्तिका विषयमा कुराकानी गरेको स्रोतहरूले बताएका छन्।

विशेषगरी होर्मुज जलमार्ग र उच्च संवर्धित युरेनियमको भण्डारण वार्ताको मुख्य विषय बनेको छ। विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय समुदायको चासो समेत तीव्र बनेको छ।

एजेन्सी, ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको समयसीमा सकिनुअघि कडा चेतावनी दिएका छन्। वाशिंगटन समयअनुसार बुधबार साँझ युद्धविराम सकिने भएकाले त्यसअघि कुनै ठोस सम्झौता नभए युद्धविराम थपिने सम्भावना अत्यन्त कम रहेको उनले बताएका हुन्।

रेडियो कार्यक्रम ‘द जोन फ्रेडरिक्स शो’ मा बोल्दै ट्रम्पले इरान वार्ताको टेबुलमा आउनैपर्ने अडान राखे। उनले भने, “यदि उनीहरूले वार्ता गरेनन् भने, उनीहरूले कहिल्यै नदेखेका समस्याहरूको सामना गर्नेछन्। उनीहरूले कल्पना नै नगरेको युद्ध हुनेछ।”

कूटनीतिक प्रयासहरू पनि तीव्र बनाइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स सम्भावित दोस्रो चरणको वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेको बताइएको छ। उनीसँगै विशेष दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि वार्तामा सहभागी हुन सक्ने जनाइएको छ।

यसअघि पाकिस्तानको राजधानी इस्लामाबाद मा लामो वार्ता भए पनि कुनै सम्झौता हुन सकेको थिएन। अमेरिकी पक्षले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउन अस्वीकार गरेको दाबी गरेको थियो।

इरानले भने अमेरिकामाथि दबाब र धम्कीको राजनीति गरेको आरोप लगाएको छ। इरानी राष्ट्रपति मसूद पेजेश्कियान ले अमेरिकी चेतावनीलाई “अनुचित व्यवहार” भन्दै दबाबका बीच कुनै सम्झौता नगर्ने बताएका छन्। इरानको विदेश मन्त्रालयले हालसम्म कुनै औपचारिक वार्ता तय नभएको बताएको छ।

यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इरान सम्झौतामा सहमत नभएसम्म अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको समुद्री नाकाबन्दी नहटाउने बताएका छन्। उनले उक्त नाकाबन्दीका कारण इरानले दैनिक ५०० मिलियन डलरभन्दा बढी आर्थिक क्षति भोगिरहेको दाबी गरेका छन्।

वासिङ्टन डिसी । इरानसँग जारी युद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले थप सैन्य रणनीति अघि बढाएका छन्। सोही क्रममा अमेरिकी सेनाको चर्चित ‘८२ औँ एयरबर्न डिभिजन’का हजारौँ सैनिकहरू पश्चिम एसियातर्फ पठाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार नर्थ क्यारोलिनास्थित फोर्ट ब्रागबाट प्रस्थान गरेका प्याराट्रूपरहरू सम्भावित स्थलगत कारबाहीका लागि तयारी अवस्थामा राखिएको बताइएको छ। यसअघि नै करिब २५ सय मरिन सैनिक उक्त क्षेत्रमा पुगिसकेका छन् भने नयाँ टोलीमा हेडक्वार्टर, बन्दोबस्ती सामग्री र ब्रिगेड कम्ब्याट टिम समेत समावेश छन्।

अमेरिकी प्रशासनले तत्काल इरानभित्र सेना पठाउने निर्णय नगरे पनि आवश्यक परे जुनसुकै अवस्थामा हस्तक्षेप गर्न सक्ने तयारी गरिएको स्रोतले जनाएको छ। अमेरिकी प्रशासनभित्र इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापु कब्जा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। यद्यपि इरानको सम्भावित प्रतिकारका कारण यो योजना जोखिमपूर्ण मानिएको छ।

सैन्य रणनीतिकारहरूले इरानभित्र रहेको उच्च संवर्धित युरेनियम नियन्त्रण वा नष्ट गर्ने विकल्पमाथि समेत विचार गरिरहेका छन्। यसका लागि लामो समयसम्म इरानी भूमिमा सैन्य उपस्थितिको आवश्यकता पर्न सक्ने जनाइएको छ। यसैबीच स्ट्रेट अफ होर्मुजमा तेल ट्याङ्करहरूको सुरक्षाका लागि तटीय क्षेत्रमा सेना उतार्ने विकल्प पनि अमेरिकाको रणनीतिमा परेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्ध अन्त्यका लागि वार्ताको प्रयास भइरहेको बताए पनि होर्मुज नखोलेमा इरानका तेल कुवा र पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी दिएका छन्। फेब्रुअरी २८ देखि सुरु भएको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत अमेरिकाले अहिलेसम्म ११ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ। यस युद्धमा १३ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।

विश्लेषकहरूका अनुसार नयाँ युद्धमा नफस्ने चुनावी वाचा गरेका ट्रम्पका लागि इरानमा स्थल सेना पठाउने निर्णय राजनीतिक रूपमा चुनौतीपूर्ण बन्न सक्नेछ।