काठमाडौँ, माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा निर्मित विमान अमेरिकामा बिक्री भए ५० प्रतिशतसम्म कर लगाइने चेतावनी दिनुभएको छ। क्यानडाले जर्जियास्थित गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताएका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसले अमेरिका–क्यानडा व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्ने संकेत देखिएको छ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले क्यानडाले आफ्नो निर्णय तत्काल सच्याएन भने अमेरिकामा बिक्री हुने सबै क्यानडाली विमानमा उच्च कर लगाइने चेतावनी दिनुभएको छ।
साथै उहाँले क्यानडाली कम्पनी बोम्बार्डियरका ग्लोबल एक्सप्रेस व्यापारिक जेटहरूको प्रमाणपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको दाबी गर्नुभएको छ। उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार हाल अमेरिकामा दर्ता भई सञ्चालनमा रहेका करिब १ सय ५० वटा ग्लोबल एक्सप्रेस विमान रहेका छन्। यदि कर र प्रमाणपत्रसम्बन्धी निर्णय कार्यान्वयनमा आए उड्डयन उद्योग र व्यापारिक जेट बजारमा ठूलो प्रभाव पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
यसअघि सन् २०१७ मा पहिलो ट्रम्प प्रशासनकालमा पनि अमेरिकी वाणिज्य मन्त्रालयले बोम्बार्डियरमाथि अनुचित सरकारी अनुदानको आरोप लगाउँदै शुल्क लगाएको थियो। तर त्यसबेला अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले क्यानडाली कम्पनीले अमेरिकी उद्योगलाई प्रत्यक्ष क्षति नपुर्याएको ठहर गरेको थियो।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानमा लगाइने भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । सन् २०२५ मा दुई देशबीच भएको ऐतिहासिक व्यापार सम्झौतालाई उल्ट्याउँदै ट्रम्पले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् ।
दक्षिण कोरियाली संसदले अघिल्लो व्यापार सम्झौताको पूर्ण पालना र अनुमोदन नगरेको आरोप लगाउँदै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ भन्सार महसुल दर लागू भएसँगै कार, औषधि तथा काठजन्य सामग्रीमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ । यो निर्णय सार्वजनिक भएपछि दक्षिण कोरियाली सेयर बजार कोस्पीमा उल्लेखनीय गिरावट आएको छ । विशेषगरी हुन्डाई र किया जस्ता प्रमुख कार उत्पादक कम्पनीका सेयरहरू दबाबमा परेका छन् ।
यसैबीच दक्षिण कोरियाली व्यापार मन्त्री वार्ताका लागि तत्काल वासिङ्टन प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ । यसअघि पनि राष्ट्रपति ट्रम्पले युरोपेली युनियन र क्यानडालाई यस्तै प्रकारको आर्थिक दबाब दिने चेतावनी दिँदै आएका थिए ।
एजेन्सी । अमेरिकाले भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लगाएको छ। यसअघि लागू भइसकेको २५ प्रतिशत शुल्कमा थप २५ प्रतिशत थपिएको हो।
यो निर्णय पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार लागू हुने भएको हो, जुन आदेश जारी भएको मितिले २१ दिनपछि प्रभावकारी हुनेछ।
ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट कच्चा तेल आयात गरिरहेको आरोप लगाउँदै यस्तो कडा कदम चालेको हो। नयाँ शुल्कले अमेरिकी बजारमा भारतीय उत्पादनहरू महँगा बनाउने र भारतको निर्यात ४०–५० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ।
अमेरिकाको निर्णयप्रति भारतको परराष्ट्र मन्त्रालयले तीव्र आपत्ति जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ।”
भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षाका लागि रुसबाट तेल आयात गर्नुपर्ने बाध्यता रहेको प्रष्ट पारेको छ। “त्यस्तै खालको कार्य अरु कैयौं देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन्,” भारतले जनाएको छ, “तर भारतमाथि मात्र यस्तो कठोर निर्णय गर्नु अन्यायपूर्ण हो।”
यस घटनाले भारत–अमेरिका व्यापार सम्बन्धमा नयाँ तनावको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।
वासिङ्टन, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ भन्सार करहरू आगामी सात दिनभित्र ७० भन्दा बढी देशहरूमाथि लागू हुने भएका छन्।
यद्यपि क्यानाडाको हकमा भने ३५ प्रतिशत भन्सार कर आजै रातिदेखि नै कार्यान्वयनमा आउने बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ तारिखलाई अन्तिम म्यादका रूपमा तोकेका थिए र यदि ती देशहरूले आवश्यक सम्झौता नगरेमा भन्सार कर लगाइने चेतावनी दिएका थिए।
खबरअनुसार, अगस्ट ७ सम्म पानीजहाजमा लोड गरिएका सामानमा भने नयाँ करको दर लागू हुने छैन। अमेरिकी प्रशासनले क्यानाडाविरुद्ध ३५ प्रतिशत भन्सार कर लगाउनुको कारण अवैध लागूपदार्थ (फेन्टानिल) नियन्त्रणमा सहयोग नगरेको र अमेरिकाको प्रतिक्रिया नीति नमानिएको बताएको छ।
यससँग सम्बन्धित रूपमा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गत जुलाईमा दिएको बयानमा फेन्टानिल नियन्त्रणमा “महत्त्वपूर्ण प्रगति” भएको बताएका थिए। अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्ने अनुमान गरिएको छ।
वासिङ्टन, २९ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच चुम्बक र दुर्लभ धातु आपूर्तिसम्बन्धी सम्झौता भएको दाबी गरेका छन्। दुई देशबीच चिसिएको सम्बन्ध केही तातो बन्न थालेको संकेत दिँदै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सम्झौताको उल्लेख गरेका हुन्।
ट्रम्पका अनुसार, सम्झौता अन्तर्गत चीनले अमेरिकी कम्पनीलाई दुर्लभ धातु तथा चुम्बक आपूर्ति गर्न सहमति जनाएको छ। यसको बदलामा अमेरिका चीनका विद्यार्थीहरूका लागि भिसा खारेजीको धम्की फिर्ता लिनेछ। “हामीले चीनसँग सम्झौता गरेका छौं, यसमा मलाई र सीलाई अन्तिम स्वीकृति दिन बाँकी छ,” ट्रम्पले भनेका छन्।
यो सहमति लन्डनमा दुई दिनसम्म चलेको वार्तापछि भएको जनाइएको छ। यद्यपि, सम्झौताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। गएको मे महिनामा दुवै देशले आ-आफ्ना व्यापारिक नीतिमा लचकता देखाउँदै युद्धविरामको सहमति जनाए पनि पछिल्लो समयमा एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका थिए।
यसैबीच, ट्रम्पले बिहीबार एक वक्तव्यमा विश्वभरका देशहरूमाथि एकतर्फी ट्यारिफ लगाउने चेतावनी पनि दिएका छन्, जसले व्यापार सम्बन्धमा थप असर पार्ने अनुमान गरिएको छ।