एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको प्रतिशोधस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ मुख्यालयमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकी सैन्य आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको उल्लेख गर्दै अमेरिका वा उसका सहयोगीबाट थप आक्रमण भए अझ कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ।
इरानी पक्षका अनुसार अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक र केशम टापु आसपासका विभिन्न स्थानमा आक्रमण गरेको थियो। ती आक्रमणबाट दूरसञ्चार पूर्वाधार तथा अन्य केही संरचनामा क्षति पुगेको दाबी गरिएको छ।
यसअघि अमेरिकी सेनाले इरानका केही राडार तथा हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो। त्यसपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ।
यद्यपि अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानले फिफ्थ फ्लिट मुख्यालयमा क्षति पुर्याएको दाबीलाई अस्वीकार गर्दै आफ्ना सैन्य संरचनामा कुनै क्षति नभएको जनाएको छ।
मध्यपूर्वमा अमेरिका–इरान तनाव पुनः चर्किएसँगै क्षेत्रीय सुरक्षाबारे चिन्ता बढेको छ भने बहराइन र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।
वासिङ्टन डिसी । इरानसँग जारी युद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले थप सैन्य रणनीति अघि बढाएका छन्। सोही क्रममा अमेरिकी सेनाको चर्चित ‘८२ औँ एयरबर्न डिभिजन’का हजारौँ सैनिकहरू पश्चिम एसियातर्फ पठाइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार नर्थ क्यारोलिनास्थित फोर्ट ब्रागबाट प्रस्थान गरेका प्याराट्रूपरहरू सम्भावित स्थलगत कारबाहीका लागि तयारी अवस्थामा राखिएको बताइएको छ। यसअघि नै करिब २५ सय मरिन सैनिक उक्त क्षेत्रमा पुगिसकेका छन् भने नयाँ टोलीमा हेडक्वार्टर, बन्दोबस्ती सामग्री र ब्रिगेड कम्ब्याट टिम समेत समावेश छन्।
अमेरिकी प्रशासनले तत्काल इरानभित्र सेना पठाउने निर्णय नगरे पनि आवश्यक परे जुनसुकै अवस्थामा हस्तक्षेप गर्न सक्ने तयारी गरिएको स्रोतले जनाएको छ। अमेरिकी प्रशासनभित्र इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापु कब्जा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। यद्यपि इरानको सम्भावित प्रतिकारका कारण यो योजना जोखिमपूर्ण मानिएको छ।
सैन्य रणनीतिकारहरूले इरानभित्र रहेको उच्च संवर्धित युरेनियम नियन्त्रण वा नष्ट गर्ने विकल्पमाथि समेत विचार गरिरहेका छन्। यसका लागि लामो समयसम्म इरानी भूमिमा सैन्य उपस्थितिको आवश्यकता पर्न सक्ने जनाइएको छ। यसैबीच स्ट्रेट अफ होर्मुजमा तेल ट्याङ्करहरूको सुरक्षाका लागि तटीय क्षेत्रमा सेना उतार्ने विकल्प पनि अमेरिकाको रणनीतिमा परेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्ध अन्त्यका लागि वार्ताको प्रयास भइरहेको बताए पनि होर्मुज नखोलेमा इरानका तेल कुवा र पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी दिएका छन्। फेब्रुअरी २८ देखि सुरु भएको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत अमेरिकाले अहिलेसम्म ११ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ। यस युद्धमा १३ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
विश्लेषकहरूका अनुसार नयाँ युद्धमा नफस्ने चुनावी वाचा गरेका ट्रम्पका लागि इरानमा स्थल सेना पठाउने निर्णय राजनीतिक रूपमा चुनौतीपूर्ण बन्न सक्नेछ।
एजेन्सी । इरानले स्ट्रेट अफ हर्मुज पार गर्ने सबै जहाजहरूसँग शुल्क उठाउने नयाँ कानुन ल्याउने तयारी गरेको छ। इरानी संसदले तयार पारेको मस्यौदा अनुसार, सो क्षेत्रको सुरक्षा सुनिश्चित गरेबापत सबै ट्याङ्कर र मालवाहक जहाजले अनिवार्य शुल्क तिर्नुपर्नेछ।
इरानले युद्ध अन्त्यका लागि अघि सारेका पाँच सर्तमध्ये हर्मुजमा आफ्नो पूर्ण अधिकार हुने विषयलाई प्रमुखताका साथ उठाएको छ। युद्ध भने जारी रहेको छ। यसैबीच, लेबनानी विद्रोही समूह हिजबुल्लाहले इजरायलको तेल अभिभस्थित सैन्य मुख्यालय र सैनिक गुप्तचर केन्द्रमा मिसाइल प्रहार गरेको दाबी गरेको छ।
इजरायली डिफेन्स फोर्सले लेबनानबाट प्रहार गरिएका ६ वटा रकेट खसालेको जनाएको छ। यस्तै, इराकस्थित इस्लामिक रेसिस्टेन्सले पछिल्लो २४ घण्टामा अमेरिकी सैन्य आधार शिविरहरूमा २३ पटक ड्रोन आक्रमण गरेको जनाएको छ।
साउदी अरेबियाको रक्षा मन्त्रालयले पनि आफ्नो पूर्वी क्षेत्रमा आउँदै गरेका २२ वटा ड्रोन खसालेको जानकारी दिएको छ। यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले आफ्नो विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकन मार्फत इरानका सैन्य क्षेत्रहरुमाथि आक्रमण जारी राखेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता स्वीकार नगरेको खण्डमा नर्क निम्त्याउने चेतावनी दिँदै अमेरिकी सैनिकको संख्या ५० हजारसम्म बढाएको अलजजिराले उल्लेख गरेको छ।
काठमाडौं, २९ फागुन । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेनाले पश्चिमी इराकको आकाशमा उडिरहेको केसी–१३५ ट्यांकर विमान दुर्घटनामा परेको पुष्टि गरेको हो। सेनाका अनुसार दुईवटा विमानमध्ये एउटा भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।
रिफ्युलिङ ट्यांकर विमानहरूले लडाकु विमानहरूलाई हावामै इन्धन भर्ने काम गर्छन्। युद्धका क्रममा यस्ता विमानहरूले लडाकु तथा बमवर्षक विमानहरूलाई लामो दूरीसम्म उडान भर्न सहयोग गर्ने भएकाले महत्वपूर्ण मानिन्छन्।
बीबीसीका अनुसार विमान दुर्घटनाको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन। प्रारम्भिक अनुमानअनुसार ती विमानहरू आकाशमै एकआपसमा ठोक्किएको हुन सक्ने आशंका गरिएको छ। अमेरिकी सेन्ट्रल कमानले भने दुर्घटना शत्रुको गोलीबारी वा आफ्नै सेनाको फायरका कारण नभएको जनाएको छ।
विमानमा कति जना सवार थिए र हताहती भए नभएकोबारे पनि हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सेन्ट्रल कमानले दुर्घटना इराकको एयर स्पेसमा भएको बताए पनि इरानको सीमाबाट कति दूरीमा घटना भएको हो भन्नेबारे जानकारी दिएको छैन।
पूर्वी प्रशान्त र क्यारिबियनमा तीन जहाजमाथि आक्रमण
११ जनाको मृत्यु पुष्टि
लागूऔषध तस्करीमा संलग्न रहेको अमेरिकी दाबी
अमेरिकी सेनालाई कुनै क्षति नभएको जानकारी
सेप्टेम्बरदेखि करिब ४० पटक समुद्री आक्रमण
१३० भन्दा बढी मानिसको ज्यान गएको दाबी
एजेन्सी । अमेरिकी दक्षिणी कमाण्डका अनुसार अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना तथा क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको ज्यान गएको हो ।
कमाण्डले गुप्तचर सूचनाका आधारमा ती जहाजहरू लागूऔषध तस्करीका लागि परिचित मार्ग प्रयोग गरिरहेको र तस्करी गतिविधिमा संलग्न रहेको दाबी गरेको छ । उक्त आक्रमणमा अमेरिकी सेनातर्फ कुनै क्षति नभएको बताइएको छ ।
यद्यपि अमेरिकी प्रशासनले डुङ्गा, कार्गो वा मारिएका व्यक्तिहरूको पहिचानबारे विस्तृत प्रमाण सार्वजनिक गरेको छैन । रिपोर्टअनुसार सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लागेका जहाजहरूमाथि करिब ४० पटक आक्रमण गरिसकेको छ, जसमा १३० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।
निकोलस मादुरोलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि समुद्री अपरेसन पुनः तीव्र बनाएको उल्लेख गरिएको छ ।
एजेन्सी, २१ माघ । अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोततर्फ आउँदै गरेको इरानी ड्रोन खसालेको दाबी गरेको छ। अमेरिकी सेनाका अनुसार हिजो उक्त ड्रोनलाई स्टेल्थ लडाकु विमान प्रयोग गरी आत्मरक्षाका लागि खसालिएको हो।
अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानको तटबाट झन्डै ५ सय माइल टाढा अमेरिकी जहाज रहेको अवस्थामा ड्रोन नजिकिएको र यसको उद्देश्य स्पष्ट नभएकाले कारबाही गरिएको बताउनुभयो। घटनामा कुनै पनि अमेरिकी सैनिक वा सैन्य उपकरणमा क्षति नपुगेको जनाइएको छ।
यो घटना वासिङ्टन र तेहरानबीच तनाव चर्किरहेको समयमा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने सम्झौतामा सहमत नभए सैन्य कारबाही हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ।
व्हाइट हाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले राष्ट्रपति ट्रम्प कूटनीतिलाई प्राथमिकता दिने पक्षमा रहे पनि सबै विकल्प खुला रहेको बताउनुभएको छ। उता, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इरानमाथि कुनै पनि आक्रमण भए क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिँदै आउनुभएको छ।
ड्रोन खसालिएको घटनाबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। क्षेत्रीय तनावका बीच अमेरिका–इरानबीच सम्भावित वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।
एजेन्सी । अमेरिकाले आफ्नो सुरक्षा रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ। यसअघि चीनबाट उत्पन्न खतरालाई शीर्ष प्राथमिकतामा राख्दै आएको अमेरिकाले अब उक्त प्राथमिकताबाट चीनलाई हटाउँदै मातृभूमि तथा पश्चिमी गोलार्धको सुरक्षालाई मुख्य चिन्ताको विषय बनाएको हो।
अमेरिकी रक्षा विभाग पेन्टागनले अपनाएको नयाँ सुरक्षा रणनीतिमा रुस र उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न अमेरिकी सहयोगी राष्ट्रहरूलाई थप जिम्मेवारी बाँडफाँट गर्ने उल्लेख गरिएको छ। उत्तर कोरियाबाट आउने चुनौतीको सामना गर्न दक्षिण कोरियालाई थप जिम्मेवारी हस्तान्तरण गर्ने अमेरिकी लक्ष्य रहेको छ।
हाल दक्षिण कोरियामा झन्डै २८ हजार ५ सय अमेरिकी सेना तैनाथ छन्। उत्तर कोरियाको बढ्दो सैन्य गतिविधिलाई ध्यानमा राख्दै दक्षिण कोरियाले यस वर्ष आफ्नो रक्षा बजेट ७ दशमलव ५ प्रतिशतले बढाएको छ।
यसैबीच अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई अब सीमित मात्र सहयोग प्रदान गर्ने नीति लिएको बीबीसीले जनाएको छ। नयाँ रणनीतिअन्तर्गत अमेरिकाले प्रत्यक्ष संलग्नताभन्दा सहयोगीहरूलाई आत्मनिर्भर बनाउने दिशामा जोड दिएको देखिन्छ।
अमेरिकाले पछिल्लो समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ भने पूर्वी प्रशान्त र क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेका डुङ्गाहरूमाथि आक्रमण पनि गरेको छ। यस्तै अमेरिकाले ग्रीनल्यान्ड प्राप्त गर्न सहयोगी राष्ट्रहरूमाथि दबाब दिएको आरोप पनि लागेको छ।