भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एजेन्सी । अमेरिकाले आफ्नो सुरक्षा रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ। यसअघि चीनबाट उत्पन्न खतरालाई शीर्ष प्राथमिकतामा राख्दै आएको अमेरिकाले अब उक्त प्राथमिकताबाट चीनलाई हटाउँदै मातृभूमि तथा पश्चिमी गोलार्धको सुरक्षालाई मुख्य चिन्ताको विषय बनाएको हो।

अमेरिकी रक्षा विभाग पेन्टागनले अपनाएको नयाँ सुरक्षा रणनीतिमा रुस र उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न अमेरिकी सहयोगी राष्ट्रहरूलाई थप जिम्मेवारी बाँडफाँट गर्ने उल्लेख गरिएको छ। उत्तर कोरियाबाट आउने चुनौतीको सामना गर्न दक्षिण कोरियालाई थप जिम्मेवारी हस्तान्तरण गर्ने अमेरिकी लक्ष्य रहेको छ।

हाल दक्षिण कोरियामा झन्डै २८ हजार ५ सय अमेरिकी सेना तैनाथ छन्। उत्तर कोरियाको बढ्दो सैन्य गतिविधिलाई ध्यानमा राख्दै दक्षिण कोरियाले यस वर्ष आफ्नो रक्षा बजेट ७ दशमलव ५ प्रतिशतले बढाएको छ।

यसैबीच अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई अब सीमित मात्र सहयोग प्रदान गर्ने नीति लिएको बीबीसीले जनाएको छ। नयाँ रणनीतिअन्तर्गत अमेरिकाले प्रत्यक्ष संलग्नताभन्दा सहयोगीहरूलाई आत्मनिर्भर बनाउने दिशामा जोड दिएको देखिन्छ।

अमेरिकाले पछिल्लो समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ भने पूर्वी प्रशान्त र क्यारेबियन क्षेत्रमा लागुऔषध बोकेका डुङ्गाहरूमाथि आक्रमण पनि गरेको छ। यस्तै अमेरिकाले ग्रीनल्यान्ड प्राप्त गर्न सहयोगी राष्ट्रहरूमाथि दबाब दिएको आरोप पनि लागेको छ।

एजेन्सी, २ पुष ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि पूर्ण रूपमा नाकाबन्दी लगाउन आदेश दिनुभएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भेनेजुएला आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै यस्तो आदेश जारी गर्नुभएको हो।

यसअघि एक हप्ता अगाडि अमेरिकाले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो। उक्त कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुटपाट’ को संज्ञा दिएका थिए।

ट्रम्पको नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतार–चढाव आउन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। यसैबीच अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गरेको छ।

उक्त क्षेत्रमा परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी, जासुसी विमान तथा करिब १५ हजार सैनिक तैनाथ गरिएको जनाइएको छ।

अमेरिकाले सो क्षेत्रमा रहेका केही डुंगामाथि आक्रमणसमेत गरेको बताइएको छ, जसमा हालसम्म ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको खबरमा उल्लेख छ।

एजेन्सी ।  अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक रहेको एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ।

यो कदमले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलेस मदुरो नेतृत्वको सरकारमाथि थप कडा दबाब बनाएको संकेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भेनेजुएलाको तटसमिप्यै रहेको ठूलो तेल ट्यांकर कब्जामा लिइएको पुष्टि गर्नुभयो। बीबीसीले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सैनिकहरू हवाई मार्गबाट डोरी प्रयोग गर्दै ट्यांकरमा झर्दै गरेको देखिन्छ।

अमेरिकी दाबी अनुसार उक्त ट्यांकर इरान–भेनेजुएलाबिच प्रतिबन्धित तेल ढुवानीमा संलग्न थियो।भेनेजुएलाले भने अमेरिकाको कदमलाई अन्तर्राष्ट्रिय समुद्री डकैती भन्दै कडा विरोध गरेको छ। यसअघि नै राष्ट्रपति मदुरोले भेनेजुएलालाई “तेल उपनिवेश” बनाउन अमेरिकी प्रयास अस्वीकार्य हुने बताएका थिए।

उक्त घटनापछि विश्वबजारमा तेल आपूर्तिको जोखिम बढेको भन्दै कच्चा तेलको मूल्य केही अंकले उक्लिएको विश्लेषकहरूले बताएका छन्। अमेरिकी कारबाहीमा २ हेलिकप्टर, १० कोस्ट गार्ड सदस्य, १० आधुनिक डुङ्गा र विशेष फोर्सको टोली सहभागी थियो।

भेनेजुएलाको सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमलाई गम्भीर अन्तर्राष्ट्रिय अपराध भनेको छ। हालै अमेरिकाले झण्डै ९ हजार सैनिक क्यारेबियन समुद्री क्षेत्र भेनेजुएलाको उत्तरी सीमा नजिकतैनाथ गरेको छ।

साथै विश्वकै ठूलो युद्धपोतमध्ये एकलाई पनि त्यही क्षेत्रमा परिचालन गरिएको छ, जसले सम्भावित सैन्य तनाव बढाएको बताइएको छ।

काठमाडाैं, ११ असार । इरानमा अमेरिकी सेनाले हालै गरेको आक्रमणपछि अमेरिकी गुप्तचर निकायको प्रारम्भिक मूल्याङ्कनले उक्त आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको निष्कर्ष निकालेको छ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (DIA) ले तयार पारेको हो ।

गुप्तचर स्रोतहरूका अनुसार, आक्रमणले इरानको संवर्धित युरेनियम भण्डारलाई खासै क्षति पुर्‍याएको छैन र सेन्ट्रीफ्युजहरू पनि धेरै हदसम्म सुरक्षित छन् । एक गुप्त स्रोतले भने, “इरानलाई बढीमा केही महिनासम्म मात्र पछाडि धकेल्न सकियो ।”

तर यो मूल्याङ्कन ट्रम्प प्रशासनको दाबीहरूसँग मेल खाँदैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथले आक्रमणबाट इरानको परमाणु पूर्वाधार ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए । यसैबीच ह्वाइट हाउसले उक्त मूल्याङ्कनको अस्तित्वलाई स्वीकार गर्दै त्यसलाई अस्वीकार गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सीएनएनलाई दिएको प्रतिक्रिया अनुसार, मूल्याङ्कन लिक गर्नु ट्रम्पलाई बदनाम गर्न गरिएको योजनाबद्ध प्रयास भएकाे बताइन् । उनले भनेकी छन्, “३०,००० पाउन्डका १४ वटा बमहरू जब लक्षित स्थानमा खसालिन्छन्, त्यहाँ पूर्ण विनाश हुन्छ भन्ने सबैलाई थाहा छ ।”

हाल मूल्याङ्कन प्रक्रिया अझै जारी छ र अन्तिम निष्कर्ष आउन बाँकी रहेको अमेरिकी गुप्तचर निकायहरूले जनाएका छन् ।

तेहरान, ८ असार । इरानमाथि अमेरिका द्वारा गरिएका हवाई आक्रमणपछि अब ईरान चुप बस्ने अवस्थामा छैन। ईरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले कडा शब्दमा चेतावनी दिँदै भनेका छन्, “अमेरिकाले पहिलेभन्दा ठूलो क्षति र झट्का भोग्नुपर्नेछ।”

खामेनेईको यो भनाइले क्षेत्रीय युद्ध झनै चर्कने सङ्केत दिएको छ। इरानी सरकारी टेलिभिजनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष रूपमा चेतावनी दिँदै भनेको छ— “अब पश्चिम एसियामा रहेका सबै अमेरिकी नागरिक र सैनिकहरू हाम्रो निशानामा छन्।”

ईरानी टेलिभिजन च्यानलले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूको ग्राफिक प्रस्तुत गर्दै भनेको छ । “अमेरिकाले इरानी हवाई क्षेत्र उल्लंघन गरेर ठूलो अपराध गरेको छ। यो क्षेत्रमा अब अमेरिकाको कुनै स्थान छैन।”

अमेरिकाको आक्रमणपश्चात इजरायली सुरक्षायन्त्र पनि उच्च सतर्कतामा राखिएको छ। इरानले इजरायलसँग चलिरहेको युद्धमा अमेरिकी संलग्नतालाई युद्ध विस्तारको प्रमाण मानेको छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका थिए कि अमेरिकाले इरानका तीन परमाणु केन्द्र  फोर्डो, नतांज र इस्फाहान, मा सफल हमला गरेको छ। आक्रमणपछि उनले ‘अब शान्तिको समय’ भएको टिप्पणी गरेका थिए, तर इरानको प्रतिक्रिया त्यसको उल्टो देखिएको छ।

इरानका सर्वोच्च नेता अयातुल्ला खामेनीले अमेरिकी आक्रमणलाई ‘युद्धको अकारण र अपमानजनक कदम’ भनेका छन्। उनले चेतावनी दिएका छन् अब इरानले अमेरिका र उसका साझेदारहरूलाई थप ठुलो क्षति पुर्याउने छ।

एजेन्सी, ८ असार । इरानमाथि अमेरिका पनि युद्धमा खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा सफल हवाई आक्रमण गरेको घोषणा गरेका छन्।

उनका अनुसार फोर्डो, नतान्ज र इस्फहानमा रहेका आणविक साइटहरूमा अमेरिकी वायुसेनाले बम आक्रमण गरेको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, “हामीले इरानका तीन आणविक साइटहरूमा निकै सफल आक्रमण सम्पन्न गर्यौँ। सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर निस्किएका छन्।”

राष्ट्रपति ट्रम्पका अनुसार फोर्डो साइटमा ‘पूर्ण क्षमताका बमहरू’ खसालिएको छ र सबै विमानहरू अमेरिका फर्किसकेका छन्। इजरायल र इरानबीच केही सातादेखि जारी तनावकाबीच अमेरिकाले आक्रमण थालेको हो।

बीबीसीको रिपोर्ट अनुसार अमेरिकी विमानहरूले आक्रमणपछि इरानको हवाई क्षेत्र छाडिसकेका छन्। यसैक्रममा ट्रम्पले अन्तर्राष्ट्रिय समुदायलाई अब शान्तिका लागि पहलकदमी लिन आग्रह गरेका छन्। उनले इरानले युद्ध अन्त्य गर्न सहमत हुनुपर्नेमा जोड दिएका छन्।

इजरायलले गएको जुन १३ देखि इरानमा सैन्य कारबाही गर्दै आएको छ। त्यसैबीच ट्रम्पले अमेरिका इरान युद्धमा सहभागी हुने वा नहुने विषयमा चाँडै निर्णय लिने बताएका थिए। अब भने अमेरिकाको सीधा सैन्य संलग्नताले मध्यपूर्वमा स्थिति थप तनावग्रस्त बन्ने अनुमान गरिएको छ।

ट्रम्पले चाँडै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहेका छन्। सम्बोधनमा आक्रमणका कारण र अमेरिकी रणनीतिको विषयमा विस्तृत जानकारी आउन सक्ने अलजजिरा ले उल्लेख गरेको छ।