एजेन्सी । दक्षिणी स्पेनमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । दुर्घटनामा ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन् ।
स्पेनको रेल सञ्जाल सञ्चालन गर्ने एडिफ (एडिआइएफ) का अनुसार मालागाबाट म्याड्रिडतर्फ गइरहेको एउटा तीव्रगतिको रेल कोर्डोबा नजिकैको आदामुज सहर आसपास पटरीबाट खसेर छेउको अर्को ट्रयाकमा रहेको रेलसँग ठोक्किएको थियो । त्यसपछि म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको अर्को रेल पनि पटरीबाट बाहिर खसेको जनाइएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाले सिंगो देश गहिरो पीडामा परेको प्रतिक्रिया दिएका छन् ।
यातायात मन्त्री ओस्कार पुयन्तेका अनुसार घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । उनले घटनालाई ‘अत्यन्तै अनौठो’ दुर्घटना भनेका छन् । दुर्घटनाको आधिकारिक कारण हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।
दुर्घटनापछि म्याड्रिड र आन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ । यी सेवा सोमबारसम्म बन्द रहने जनाइएको छ । प्रभावित यात्रुहरूका लागि टर्मिनलहरू रातभर खुला राखिएको रेल कम्पनीले जनाएको छ ।
मालागाबाट सेवा दिँदै आएको निजी रेल कम्पनी इर्योले रेल पटरीबाट खसेको पुष्टि गर्दै उक्त रेलमा करिब ३०० यात्रु सवार रहेको जानकारी दिएको छ ।
एजेन्सी । वासिङटन डीसी – पेरुको लिमाबाट आएको एलएटीएएम (LATAM) एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा अमेरिकाको एटलान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाको अवस्थासम्म पुग्दा केही समय आतंकको वातावरण सिर्जना भएको छ ।
मंगलबार एलएटीएएम उडान नम्बर २४८२ (बोइङ ७६७) करिब सात घण्टाको उडानपछि एटलान्टा अवतरण गर्ने क्रममा विमानका आठैवटा ल्यान्डिङ टायर एकैसाथ फुटेका थिए । टायर फुट्नेबित्तिकै ठूलो विस्फोटको आवाज सुनिएको र धुवाँको मुस्लो उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
अवतरणका क्रममा विमान लामो समयसम्म धावनमार्गमा असामान्य रूपमा हल्लिएको यात्रुहरूको भनाइ छ, जसका कारण विमानभित्र त्रासको अवस्था सिर्जना भएको थियो । केही सेकेन्डमै टायरबाट बाक्लो धुवाँ निस्कन थालेपछि आपतकालीन अवस्था घोषणा गरिएको थियो ।
यस घटनामा कुनै पनि यात्रु घाइते नभए पनि विमानमा भौतिक क्षति पुगेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार क्याबिनका केही प्यानलहरू भत्किएका थिए भने बाथरूमको ढोकाको कब्जा फुस्किएको थियो ।
विमानमा सवार २२१ यात्रुले बसमार्फत टर्मिनलमा लैजानुअघि करिब दुई घण्टासम्म धावनमार्गमै पर्खनुपरेको थियो । घटनापछि सावधानीका रूपमा धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको भए पनि विमानस्थलका अन्य भाग भने सामान्य रूपमा सञ्चालन भइरहेका थिए ।
हवाई विज्ञहरूका अनुसार विमानका सबै आठ टायर एकैसाथ फुट्नु अत्यन्तै दुर्लभ घटना हो । प्रारम्भिक अनुमानअनुसार विमानको स्वचालित ब्रेकिङ प्रणालीमा समस्या आएर ब्रेक लक भएको र अत्यधिक घर्षणका कारण टायर फुटेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र प्राविधिक परीक्षणपछि मात्र आधिकारिक कारण सार्वजनिक गरिने बताइएको छ ।
एजेन्सी । हमासको सशस्त्र सैन्य शाखाले आफ्ना प्रवक्ता अबु ओबेदाको ज्यान गएको पुष्टि गरेको छ। एजेदिन अल–कसम ब्रिगेडले टेलिग्राम च्यानलमार्फत भिडियो वक्तव्य जारी गर्दै आफ्ना महान कमान्डर तथा सैन्य शाखाका प्रवक्ता अबु ओबेदाको अगस्ट महिनामा शाहदत भएको जानकारी दिएको हो।
भिडियो वक्तव्यमा अबु ओबेदाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, समर्थक तथा सम्पूर्ण पक्षप्रति समवेदना व्यक्त गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार इजरायलले यसअघि अगस्ट ३० मा गाजामा गरिएको आक्रमणमा अबु ओबेदालाई मारेको दाबी गरेको थियो।
युद्धकालमा ‘ओबेदा’ नामले चिनिने हुदैफा समीर अल–काहलउट हमासको सैन्य शाखाका एक केन्द्रीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। गाजा, अरब तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आधिकारिक धारणा लिन उहाँलाई विशेष रूपमा प्रतिक्षा गर्ने गर्थे। उहाँ इजरायल र हमासबीच हुने कैदी आदानप्रदानका प्रमुख वार्ताकारमध्ये एक हुनुहुन्थ्यो।
सन् १९८५ फेब्रुअरी ११ मा जन्मिनुभएका ओबेदा उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा हुर्कनुभएको थियो। एजेदिन अल–कसम ब्रिगेडमा औपचारिक रूपमा आबद्ध हुनुअघि नै उहाँ सानै उमेरमा हमास आन्दोलनमा सामेल हुनुभएको थियो। ओबेदा उत्तेजक र प्रभावशाली वक्तव्यका कारण चिनिनुहुन्थ्यो।
अबु ओबेदाको ज्यान गएको घोषणा गरिएको भिडियोमा पूर्व प्रवक्ताको शैलीमा पोसाक लगाएका एक नकाबधारी व्यक्तिले सम्बोधन गरेका छन्। उनले भविष्यमा सैन्य शाखाको प्रवक्ताको भूमिका आफूले सम्हाल्ने बताएका छन्। साथै, भिडियोमा युद्धका क्रममा इजरायली आक्रमणमा हमासका अन्य चार कमान्डरको पनि ज्यान गएको जानकारी दिइएको छ।
एजेन्सी । इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाहीमा अमेरिकासँग जोर्डन पनि सहभागी भएको छ। सिरियामा आईएस लक्ष्यविरुद्ध गरिएको हवाई आक्रमणपछि मुस्लिम बहुल देश जोर्डनले आफ्ना वायुसेनाका लडाकु विमानमार्फत अमेरिकासँग मिलेर बमबर्षा गरेको पुष्टि गरेको हो।
जोर्डन आईएसविरुद्ध गठित विश्वव्यापी गठबन्धनमा सामेल ९० देशमध्ये एक हो। सो गठबन्धनमा हालै सिरिया पनि सामेल भएको बताइएको छ। अमेरिकी सेनाले शुक्रबार गरिएको आक्रमणमा कति जना मारिए भन्ने विवरण सार्वजनिक गरेको छैन।
तर बेलायतस्थित युद्ध निगरानी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स का अनुसार ती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। अमेरिकाले शुक्रबार सिरियाका विभिन्न स्थानमा रहेका इस्लामिक स्टेटका लडाकु र उनीहरूका हतियार संरचनालाई लक्षित गरी सैन्य हमला गरेको थियो।
उक्त हमला एक हप्ताअघि एक सिरियाली बन्दुकधारीले गरेको आक्रमणको जवाफस्वरूप गरिएको हो। सो आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी अनुवादकको मृत्यु भएको थियो।
काठमाडौं, २९ मंसिर । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच नजिक भएको सामूहिक गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा करिब ४० जना घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस घटनालाई अष्ट्रेलियामा पछिल्ला करिब तीन दशकयताकै सबैभन्दा गम्भीर सामूहिक गोलीकाण्डका रूपमा हेरिएको छ । स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर ४७ मिनेटमा बोन्डी बीच नजिकैको एक पार्कमा अचानक गोली चलेको थियो ।
प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि रहेका छन् भने अर्को संदिग्ध आक्रमणकारी गम्भीर घाइते अवस्थामा उपचाररत छन् । गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ सर्वसाधारण घाइते भएको जनाइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ न्यु साउथ वेल्स प्रहरीले तत्काल व्यापक सुरक्षा अपरेसन सुरु गरेको थियो ।
प्रहरीले सामाजिक सञ्जाल एक्समार्फत बोन्डी बीच आसपास ठूलो स्तरको अपरेसन जारी रहेको जानकारी दिँदै सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेको छ ।
सार्वजनिक भएका भिडियोहरूमा पुलमाथिबाट दुई जना व्यक्तिले पार्कतर्फ अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनाका आधारमा अनुसन्धान र कारबाही अघि बढाइरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलेपछि सयौँ मानिस समुद्री तट क्षेत्रबाट भाग्दै गरेको दृश्य देखिएको थियो । यसैबीच घाइतेको उपचारका क्रममा सिड्नीका अस्पतालमा रगतको अभाव देखिएको छ ।
लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ समूहको रगत आपतकालीन रूपमा आवश्यक भएको जनाउँदै नागरिकलाई रक्तदान गर्न आग्रह गरेको छ ।
घटनाको अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको विवरण क्रमशः अद्यावधिक हुने प्रहरीले जनाएको छ ।
राष्ट्रसङ्घद्वारा इराकको राजनीतिक मिसन औपचारिक रूपमा अन्त्य
२२ वर्षपछि युएनएएमआईको भूमिका समाप्त
राष्ट्रसङ्घका अन्य कार्यक्रम इराकमा निरन्तर रहने
गुटेर्रेसद्वारा इराक अब सामान्य देश बनेको टिप्पणी
२००३ को बम विस्फोटमा २१ राष्ट्रसङ्घीय कर्मचारीको मृत्यु
एजेन्सी, २८ मंसिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुभएको छ।
इराक सरकारको अनुरोधअनुसार त्यहाँ कार्यरत संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) को भूमिका २२ वर्षपछि समाप्त हुने भएको हो। सन् २००३ मा इराकमाथि भएको आक्रमण र त्यसपछिको सङ्क्रमणकालीन अवस्थाबाट देशलाई स्थिरतामा पुर्याउन युएनएएमआईले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।
मिसन समापन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले इराकी नागरिकसँग काँधमा काँध मिलाएर काम गर्न पाएकोमा युएनएएमआईले गर्व महसुस गरेको बताउनुभएको छ। समाचार संस्था एएफपीका अनुसार गुटेर्रेसले इराकी जनता र सरकारप्रति आभार व्यक्त गर्नुभएको हो।
महासचिव गुटेर्रेसले राजनीतिक मिसन समाप्त भए पनि संयुक्त राष्ट्रसङ्घ इराकबाट पूर्ण रूपमा नहट्ने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार शान्ति स्थापना, दिगो विकास र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका विभिन्न सङ्घसंस्था र कार्यक्रमहरू इराकमा निरन्तर सञ्चालनमा रहनेछन्।
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले इराक अब सामान्य देशका रूपमा अघि बढ्न सक्षम भएको उल्लेख गर्नुभएको थियो।
उल्लेखनीय छ, सन् २००३ अगस्ट १९ मा बगदादस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको ट्रक बम विस्फोटमा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान गएको थियो। उक्त घटनाले इराकमा राष्ट्रसङ्घीय मिसनको इतिहासमा गहिरो छाप छोडेको थियो।
एजेन्जसी,२८ काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित प्रतिष्ठित ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
घटनापछि विश्वविद्यालय परिसरमा त्रासको वातावरण फैलिएको छ। घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घाइतेहरूको अवस्था हाल स्थिर रहेको छ।
विश्वविद्यालय रहेको प्रोभिडेन्स शहरका मेयर ब्रेट स्माइलीले गोलीकाण्डबाट हताहती हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा विश्वविद्यालय परिसर नजिकै अन्धाधुन्ध गोली चलाइएको थियो।
घटनापछि गोली चलाउने व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।प्रहरीले शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रारम्भिक अनुसन्धानपछि गोलीकाण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ।
घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उनले यस्ता हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघकी यातना मामिला सम्बन्धी विशेष विज्ञ एलिस जिल एडवर्ड्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारे आएका रिपोर्टहरूमा तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले इमरान खानमाथि भइरहेको व्यवहार यातना वा अन्य अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् ।
एडवर्ड्सले पाकिस्तानी अधिकारीहरूलाई इमरान खानको हिरासत अवस्था अन्तर्राष्ट्रिय मापदण्ड र मानकअनुसार सुनिश्चित गर्न अपिल गरेकी छन् । उनका अनुसार सन् २०२३ सेप्टेम्बर २६ मा रावलपिण्डीस्थित अडियाला जेलमा सारिएयता इमरान खानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको छ । उनी दिनको करिब २३ घण्टा एकान्त कोठरीमा बन्द रहने र बाहिरी संसारसँगको सम्पर्क अत्यन्त सीमित गरिएको बताइएको छ । एकान्त कोठरीभित्र समेत निरन्तर क्यामेराबाट निगरानी गरिने गरिएको एडवर्ड्सले उल्लेख गरेकी छन् ।
उनले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार लामो समयसम्मको एकान्त कारावास निषेध रहेको स्मरण गराउँदै १५ दिनभन्दा बढी कायम रहँदा त्यसलाई यातनाको एक रूप मानिने स्पष्ट पारिन् । “इमरान खानमाथि लगाइएको एकान्त कारावासको सजाय कुनै पनि ढिलाइ नगरी अन्त्य गरिनुपर्छ,” एडवर्ड्सले भनिन्, “लामो समयसम्मको यस्तो कारावास गैरकानुनी मात्र होइन, यसले उनको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्न सक्छ ।”
रिपोर्टअनुसार इमरान खानलाई कोठरीबाहिर गतिविधि गर्न वा अन्य कैदीसँग भेटघाट गर्न अनुमति दिइएको छैन। उनी सामूहिक नमाजमा समेत सहभागी हुन पाएका छैनन् । यसका साथै वकिल, परिवारका सदस्य तथा अन्य व्यक्तिसँगको भेटघाट पनि प्रायः रोकिएको वा समयभन्दा अघि नै अन्त्य गरिने गरिएको जनाइएको छ ।