एजेन्सी ।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी कूटनीतिक वार्तामा केही प्रगति भएको बताएका छन्। द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित भइरहेको वार्ताले सकारात्मक सङ्केत देखाए पनि स्थायी सहमति भने अझै हुन नसकेको उनले स्पष्ट पारे।
हेल्सिङबर्गमा आयोजित पत्रकार सम्मेलनमा रुबियोले वार्ता सफल नभए अमेरिकासँग अन्य विकल्पहरू पनि तयार रहेको बताए। उनले भने, “वार्तामा केही तर सामान्य प्रगति भएको छ।” अमेरिकाको मुख्य रणनीतिक चासोबारे बोल्दै रुबियोले इरानले ओमानलाई समावेश गरेर बन्द जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने प्रणाली बनाउन खोजेको आरोप लगाए। उनले यस्तो प्रस्ताव अन्तर्राष्ट्रिय व्यापार र समुद्री सुरक्षाका लागि स्वीकार्य नहुने बताए।
रुबियोले भने, “संसारका कुनै पनि देशले यस्तो व्यवस्था स्वीकार गर्नु हुँदैन।” यसैबीच उनले नेटो सहयोगी राष्ट्रहरूको व्यवहारप्रति पनि असन्तुष्टि व्यक्त गरे। मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिप्रति केही पश्चिमा राष्ट्रहरूको फरक धारणा रहेको भन्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको निराशा अझै कायम रहेको बताए।
उनले भने, “राष्ट्रपति ट्रम्पको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ। केही नेटो सहयोगीहरूको प्रतिक्रियाबाट उहाँको निराशा स्पष्ट देखिन्छ।”युरोपमा अमेरिकी सैन्य रणनीति परिवर्तनबारे सोधिएको प्रश्नमा रुबियोले यो कुनै सहयोगीलाई दण्डित गर्ने कदम नभएको स्पष्ट पारे। उनका अनुसार विश्वभर अमेरिकाको जिम्मेवारी बढेकाले समयअनुसार सैन्य तैनाथीको समीक्षा गरिनु स्वाभाविक प्रक्रिया हो।
अमेरिका, इजरायल र इरानबीच अप्रिल ८ मा अस्थायी युद्धविराम भएको थियो। त्यसपछि प्रत्यक्ष तथा अप्रत्यक्ष वार्ताका विभिन्न प्रयास भए पनि स्थायी सम्झौता भने हुन सकेको छैन। यसै सन्दर्भमा पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नक्वी बुधबार दोस्रो पटक इरान पुगेका छन्। उनी पाकिस्तानी सेना प्रमुख असीम मुनिरका निकट मानिन्छन्।
पाकिस्तानी मध्यस्थतापछि खाडी क्षेत्रमा खुला आक्रमण केही कम भए पनि तनाव भने अझै कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विश्लेषकहरूका अनुसार मध्यपूर्वको जारी अस्थिरताले विश्व अर्थतन्त्र, ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा दीर्घकालीन असर पार्न सक्ने चिन्ता बढाएको छ।
एजेन्सी । लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागू भएको छ, जसले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा गरिए पनि यसको स्थायित्वबारे आशंका कायमै रहेको छ ।
बिहीबार मध्यरातदेखि लागू भएको युद्धविरामसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व पनि चाँडै अन्त्य हुने संकेत गरेका छन् । उनका अनुसार अमेरिका र इरानबीच आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्ता निर्णायक चरणमा पुगेको छ ।
ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता नजिक पुगेको बताएका हुन् । उनले इरानले २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नबनाउने सहमति जनाउने संकेत देखिएको दाबी गरे ।
गत साता पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा बनेको थियो । अमेरिकाले इरानलाई अत्यधिक संवर्धित युरेनियम हटाउन दबाब दिइरहेको छ भने इरानले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ ।
यसबीच लेबनान–इजरायल युद्धविराम लागू भएसँगै बेरुतका विभिन्न स्थानमा सर्वसाधारणले खुसीयाली मनाएका छन् । तर युद्धविराम लागू भएको केही घण्टामै उल्लङ्घनका आरोप–प्रत्यारोप सुरु भएका छन् । लेबनानी सेनाले इजरायलमाथि दक्षिणी क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएको छ भने इजरायलले हिजबुल्लाहका गतिविधिको प्रतिकारस्वरूप कारबाही गरेको जनाएको छ ।
हिजबुल्लाहले पनि युद्धविराम लागू हुनुअघि अन्तिम समयसम्म इजरायलविरुद्ध आक्रमण जारी राखेको दाबी गरेको छ ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ भने यसको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । विशेषगरी स्ट्रेट अफ होर्मुज प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।
ट्रम्पले इरानसँग सम्झौता भए तेलको मूल्य र मुद्रास्फीति घट्ने दाबी गरेका छन् । उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानका राष्ट्रपति जोसेफ आउनसँग वार्ता सकारात्मक भएको उल्लेख गर्दै छिट्टै उच्चस्तरीय भेटघाटको तयारी भइरहेको जानकारी दिए ।
यद्यपि वार्तामा पूर्ण सहमति जुट्न नसकेमा द्वन्द्व पुनः चर्किने जोखिम कायमै रहेको विश्लेषकहरूले औँल्याएका छन् ।
एजेन्सी, १७ पुष । भेनेजुएला नजिकको क्यारेबियन सागर क्षेत्रमा लागूऔषधविरुद्धको कारबाहीको नाममा अमेरिकाले सैन्य आक्रमणलाई तीव्र बनाएको छ। पछिल्लो आक्रमणमा एक डुंगामा सवार कम्तीमा पाँच जनाको ज्यान गएको छ।
अमेरिकी सेनाले घटनापछि जीवित व्यक्तिहरूको खोजीका लागि तटरक्षकलाई आदेश दिएको जनाएको छ। अमेरिकी दक्षिणी कमाण्डले जारी गरेको विज्ञप्तिमा आक्रमण भएको ठ्याक्कै स्थान भने खुलाइएको छैन।
यसअघि पनि अमेरिकाले क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरलाई केन्द्र बनाएर भेनेजुएलासम्बद्ध डुंगामाथि निरन्तर आक्रमण गर्दै आएको छ। दक्षिणी कमाण्डले सार्वजनिक गरेको एक भिडियोमा डुंगा नजिकै रहेको संरचनातर्फ यात्रा गरिरहेको दृश्य देखिएको छ, जहाँ तीनवटा डुंगाबाट लागूऔषध स्थानान्तरण गरिएको दाबी गरिएको छ।
एक दिनअघि सोही क्षेत्रमा भएको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार निरन्तर भइरहेको यस सैन्य कारबाहीको अमेरिकी डेमोक्रेट सांसदहरूले समेत विरोध जनाएका छन्।
अमेरिकाले गत सेप्टेम्बरदेखि सुरु गरेको यस अपरेसनमा हालसम्म ११५ जनाको मृत्यु भइसकेको बताइएको छ। लागूऔषध नियन्त्रणको बहानामा भेनेजुएलाको सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाई त्यहाँको सरकारमाथि दबाब सिर्जना गर्ने रणनीति अपनाइएको आरोप पनि लागेको छ। उता भेनेजुएलाले अमेरिकामाथि सामुद्रिक डकैती तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएको छ।
इरानले इजरायलसँग कुनै पनि युद्धविरामको सम्झौता नभएको स्पष्ट पारेको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमार्फत बताएका छन् अहिलेसम्म युद्धविराम वा सैन्य कारबाही रोक्नेबारे कुनै सहमति भएको छैन।
उनले भनेका छन्, “इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले नै युद्ध सुरु गरेको हो। हालसम्म कुनै पनि युद्धविरामको सहमति छैन। तर यदि इजरायली शासनले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया रोक्ने सोच बनाइएको छ। अन्तिम निर्णय भने पछि गरिनेछ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविरामका लागि सहमति भएको दाबी गरेका थिए। उनले दुवै मुलुक १२ दिनका लागि युद्धविराम गर्न तयार भएको बताएका थिए।
सेउल, ९ असार । उत्तर कोरियाले हालै अमेरिकी सेनाले इरानको भूमिमा गरेको आक्रमणलाई “सार्वभौम राष्ट्रको सुरक्षामाथि अतिक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेको छ।
सरकारी समाचार एजेन्सी KCNA मार्फत जारी गरिएको उत्तर कोरियाली विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ: “इरानमाथिको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन गर्दै स्वतन्त्र राष्ट्रको क्षेत्रीय अखण्डतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको छ।“
बयानमा अमेरिका र इजरायललाई मध्यपूर्व संकटका मुख्य कारकका रूपमा चित्रित गर्दै भनिएको छ: “जेरुसलेमको लगातार युद्धमुखी नीति र भू–विस्तारवादी सोचलाई पश्चिमी मुलुकहरूले चुपचाप समर्थन गरिरहेका छन्,“।
उत्तर कोरियाले विश्व समुदायलाई स्पष्ट रूपमा आह्वान गरेको छ: “न्यायप्रिय अन्तर्राष्ट्रिय समुदायले अमेरिका र इजरायलका यस्ता द्वन्द्व भड्काउने कार्यको एक स्वरमा भर्त्सना गर्नुपर्छ।“
इरान र उत्तर कोरियाबीच दशकोंदेखि सामरिक मित्रता र प्रविधि साझेदारीको सन्देह रहँदै आएको छ। युनाइटेड नेशन्स अन्तर्गतको विशेष प्यानलले २०२१ मा नै दुवै राष्ट्रबीच लामो दूरीको मिसाइल प्रविधि आदान–प्रदान पुनः सुरु भएको संकेत गरेको थियो।
परराष्ट्र नीति विश्लेषकहरूका अनुसार, उत्तर कोरियाले दिएको समर्थन केवल राजनीतिक होइन, रणनीतिक सन्देश पनि हो । उत्तर कोरियाको यस्तो आक्रामक भाषा र समर्थनले मध्यपूर्वको चर्किंदो तनावमा नयाँ मोड ल्याउन सक्छ ।
साथै, यसले अमेरिकी नेतृत्वमा आधारित पश्चिमी सुरक्षा गठबन्धनमाथि प्रतिक्रिया स्वरूप एक उदीयमान प्रतिपक्षीय ध्रुव निर्माण भइरहेको संकेत पनि दिन्छ।