एजेन्सी, २७ जेठ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध कडा चेतावनी दिएका छन्। उनले बिना अनुमति लस एन्जलसमा अमेरिकी नेशनल गार्ड तैनाथ गरिएको भन्दै अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन्।
गभर्नर न्यूजमले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा पोस्ट गर्दै ट्रम्पले जे चाहन्थे, अहिले त्यही हुँदै गएको टिप्पणी गरेका छन्। उनले ट्रम्पमाथि संविधान विपरीत कदम चालेको आरोप लगाउँदै यो कार्यलाई ‘अवैध’ र ‘असंवैधानिक’ भनेका छन्।
शनिबार क्यालिफोर्नियाका विभिन्न सहरमा अमेरिकी इमिग्रेशन नीति र सीमा सुरक्षा प्रवर्तनको विरोधमा व्यापक प्रदर्शन भएको थियो। प्रदर्शन चर्किएपछि ट्रम्प प्रशासनले गभर्नरको आपत्ति बेवास्ता गर्दै लस एन्जलसमा २०० जना नेशनल गार्ड तैनाथ गरेको हो।
यसैबीच, अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार आवश्यक परेमा सहयोग गर्न मरीनहरूलाई समेत उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन्। गभर्नर न्यूजमले संघीय सरकारको यो हस्तक्षेप राज्यको अधिकारमाथिको हमला भएको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो कदमले आगामी निर्वाचनलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ।
एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत लस एन्जल्समा आप्रवासीविरुद्ध गरिएको सरकारी कारबाहीका कारण सुरू भएको विरोध प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा, राज्य सरकारको सहमतिबिनै संघीय सुरक्षा निकायहरूले आप्रवासीको खोजी र नियन्त्रणका लागि छापा मार्न थालेपछि हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका हुन्। यसै क्रममा ट्रम्पले २,००० भन्दा बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिएका थिए।
यस कदमको क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम लगायत स्थानीय जनप्रतिनिधिहरूले कडा विरोध जनाएका छन्। उनीहरूले संघीय सरकारको हस्तक्षेपलाई राज्यको अधिकारमाथिको उल्लङ्घन तथा असंवैधानिक कार्यको रूपमा लिएका छन्। यसले राज्य र संघीय सरकारबीच कानुनी तथा संवैधानिक टकराव चर्किएको छ।
एजेन्सीहरूका अनुसार, संघ सरकारको निर्णयविरुद्ध लस एन्जल्समा भएको प्रदर्शनमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने ५० भन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार गरिएको जनाइएको छ।
राष्ट्रपति ट्रम्पले भने आफ्नो निर्णय संघीय कानूनको पालना गराउन बाध्य भएर गरिएको बताएका छन्। तर, क्यालिफोर्निया राज्य सरकारले संघीय कदमलाई प्रजातान्त्रिक मूल्य र संघीय संरचनाविरुद्धको आक्रमणको रूपमा व्याख्या गरेको छ।
वासिङ्टन डिसी, जेठ २५। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रका प्रभावशाली व्यवसायी एलन मस्कसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन्। शनिबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध समाप्त भएको पुष्टि गरेका हुन्।
अन्तर्वार्ताको क्रममा जब पत्रकारले “के तपाईंको मस्कसँगको सम्बन्ध समाप्त भएको हो?” भनेर सोध्दा ट्रम्पले छोटो तर स्पष्ट जवाफ दिएका थिए “म अनुमान गर्छु, हो।” त्यही क्रममा अर्को प्रश्न “के तपाईं सम्बन्ध सुधार्ने चाहना राख्नुहुन्छ?” मा उनले थपे, “अहँ।”
ट्रम्प र मस्कबीचको सम्बन्धमा चिसोपन मस्कले ट्रम्पको आर्थिक विधेयकको आलोचना गरेपछि सुरु भएको हो। सो विधेयक ट्रम्पको प्रमुख घरेलु नीति अन्तर्गत पर्छ, जसमा सरकारी खर्चमा व्यापक बढोत्तरी गरिँदैछ। मस्कले उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भन्दै सार्वजनिक रूपमा आलोचना गरेका थिए।
मस्कको भनाइमा सो विधेयकले सरकारी खर्चमा अनावश्यक भार थप्नेछ र उनले नेतृत्व गरेको Department of Government Efficiency (DoGE) को प्रयासलाई कमजोर पार्नेछ। १२९ दिनपछि डजबाट बाहिरिएपछि मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तीव्र प्रतिक्रिया जनाएका थिए।
ट्रम्पले मस्कप्रति व्यक्त गरेको असन्तुष्टि सामाजिक सञ्जाल Truth Social मा समेत देखिएको छ। उनले मस्कलाई ‘पागल’ भनी उल्लेख गर्दै संघीय सरकारसँग मस्कका ठेक्काहरूमा कटौती गर्ने चेतावनीसमेत दिएका छन्। साथै उनले मस्कमाथि राष्ट्रपतिको कार्यालयप्रति ‘गम्भीर असम्मान’ देखाएको आरोप लगाए। “मलाई लाग्छ, उनले अमेरिकी राष्ट्रपतिको पदप्रति अत्यन्तै असम्मानजनक व्यवहार गरेका छन्,” ट्रम्पले भने, “त्यो राष्ट्रिय स्तरमै दुर्भाग्यपूर्ण हो।”
ट्रम्पको आलोचना पछि मस्कले एक्समा ट्रम्पको चुनावी सफलता आफैका कारण भएको दाबी गरेका थिए। उनले ट्रम्पमाथि विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग सम्बन्ध रहेको आरोपसमेत लगाएका थिए। यद्यपि, ती पोस्ट केही समयपछि हटाइएका थिए र एपस्टीनका वकिलहरूले ती आरोप अस्वीकार गरेका छन्।
उपराष्ट्रपति जेडी भान्ससहित धेरैजसो रिपब्लिकन नेताहरू ट्रम्पको पक्षमा उभिएका छन्। भान्सले मस्कको आलोचना गर्दै उनलाई “जङ्गी शैलीमा उत्रिएको” आरोप लगाए।