भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाडाैं । नवलपुरमा व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा उच्च मात्रामा विषादी अवशेष फेला परेपछि कृषि विकास कार्यालय नवलपुरले विषादी प्रयोग न्यूनीकरणका लागि व्यापक सचेतना अभियान सुरु गरेकोछ ।

कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कावासोती तथा स्थानीय तहको संयुक्त पहलमा किसानलाई बारीमै पुगेर विषादीको सही प्रयोगबारे जानकारी दिने काम सुरु गरिएको कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले बताए । 

हालै कावासोती कृषि थोक बजारमा ल्याइएका सागसब्जीको परीक्षण गर्दा काउलीमा अर्गानोफस्फेट विषादीको ९८ प्रतिशत अवशेष भेटिएको थियो । लगातार यस्ता नमूनामा विषादीको मात्रा बढी पाइएपछि अभियानलाई थप प्रभावकारी बनाइएको प्रमुख तिवारीले जानकारी दिए ।

योजनाअनुसार सागसब्जी उत्पादक किसान मात्र होइन, विषादी बिक्री गर्ने एग्रोभेट सञ्चालकहरूलाई समेत सही प्रयोग विधि, मात्रा, समय र मानव स्वास्थ्य तथा वातावरणमा पर्ने प्रभावबारे सचेत गराइँदै छ । देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईका अनुसार अभियानमा किसानलाई विषादीको प्रकार, प्रयोग अवधि, मात्रा, सुरक्षा उपकरणको उपयोग, भण्डारण र सुरक्षित नष्ट गर्ने विधि बारे विस्तृत प्रशिक्षण दिइन सक्छ ।

किसानले जथाभावी र अत्यधिक विषादी प्रयोग गर्दा बजारका सागसब्जीमा अवशेष भेटिने गरेको उल्लेख गर्दै प्रमुख तिवारीले भने, “सही तरिकाले विषादी प्रयोग गरे मात्र पनि विषादी अवशेष घट्छ र स्वास्थ्य जोखिम न्यून हुन्छ ।”

संयुक्त पहल प्रभावकारी बनेसँगै किसानले विषादी प्रयोग कम गर्दै लगेका र नवलपुरका व्यावसायिक फर्मबाट आउने सागसब्जीको गुणस्तर पनि सुधारिएको कृषि विकास कार्यालयले जनाएको छ ।