भक्तपुर । नेकपा माओवादीका महासचिव देव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरू जागरुक भएर कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । रफत सञ्चार क्लबले सोमबार गरेको सञ्चार–संवाद कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।
महासचिव गरुङले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै न्यायप्रिय जन समुदाय सचेत रहनु पर्ने बताए । उनले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले छानविन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए ।
उनले नेकपा माओवादी पार्टी मुलुक तस्करीतन्त्र र कमीशनतन्त्रबाट सदैव मुक्त रहनुपर्ने मान्यता रहेकाले वर्तमान गठबन्धनको सरकारले पनि भ्रष्टाचारको अन्त्यका लागि विभिन्न कदमहरू उठाएर सुशासन कायम गर्ने दिशातर्फ अग्रसर रहेको चर्चा गरे । एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने गुरुङको भनाई छ ।
महासचिव गुरुङले ढिलोचाँडो नेपालका वाम शक्ति एकै ठाउँमा उभिएर एकीकृत हुने टिप्पणी समेत गरे । बाबुराम भट्टराई र उनको पार्टीसँग हुने एकीकरणको विषय सकारात्मक ढंगले अगाडि बढिरहेको जानकारी दिदै पछिल्लो समयमा वामपन्थी एकताको प्रश्नले सघन रूप लिँदै गएको र त्यसमाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएका नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे ।