अवैध डलरसहित त्रिभुवन विमानस्थलबाट तीन जना नियन्त्रणमा

अवैध डलरसहित त्रिभुवन विमानस्थलबाट तीन जना नियन्त्रणमा

मुख्य बुँदा

त्रिभुवन विमानस्थलबाट २८,९०० अमेरिकी डलरसहित तीन जना पक्राउ

काठमाडौँ र सिन्धुपाल्चोकका व्यक्ति संलग्न

चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ

दुई जनाबाट १०/१० हजार, एकबाट ८,९०० डलर बरामद

अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइयो

काठमाडौँ, ६ फागुन । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौँको नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार उनीहरू चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ परेका हुन् ।

प्रहरीले अनिता र सङ्गीताको साथबाट १०/१० हजार अमेरिकी डलर तथा विनोदको साथबाट ८ हजार ९०० अमेरिकी डलर बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।