भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती

पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती

म्याग्दी, ३० असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् ।

तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।

“धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाँडेर तरकारीखेती गरेका हुन,” उनले भने, “विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्ने गरी भाडामा लिएका छन् ।

विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमुना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए ।

छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमुना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले जानकारी दिए । रासस