काठमाडौं । संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।
जोशीको निधनमा एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । सोमबार सूचना जारी गरी सरकारी कार्यालय,
सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
संस्कृतिविद् जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।
सत्यमोहन जोशीको जन्म वि.सं. १९७७ वैशाख ३० भएको थियो । २०७९ असोज ३० गते उनको निधन भयो । उनी नेपाली साहित्यकार र विद्वान थिए । जोशी नेपालको इतिहास र संस्कृतिको अनुसन्धानका लागि परिचित छन् । उनको निधन २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा भएको हो ।
प्रारम्भिक जीवन
बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा बखुम्बहाल, ललितपुरमा जन्मेका सत्यमोहन जोशीले हाम्रो लोक संस्कृति का लागि पहिलो पटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक विसं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनले त्रिचन्द्र कलेजबाट स्नातकसम्म अध्ययन गरेका थिए । जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो । तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका थिए। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन् ।
विसं २०७६ वैशाक ३० गते वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गरेका थिए । जोशी एक सय वर्षमा प्रवेश गरेको अवसर पारेर ललितपुर महानगरपालिकाले महानगरमा सार्वजनिक बिदा दिएको थियो।
२०७६ साल बैशाख ३० गतेबाट २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउने निर्णय पनि गरिएको थियो । सत्यमोहन जोशीको २०७९ साल असोज ३० गते बिहान ७ः०९ बजे निधन भएको थियो ।
तीन पटक मदन पुरस्कार
नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत सङ्कलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए। पछि गएर यही पुस्तकले वि.सं २०१३ सालमा मदन पुरस्कार पाएको थियो।
मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरेका थिए। नेपालमा लिच्छवि कालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गर्दै र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार प्राप्त गरेका थिए।
तेस्रोपटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् ।