भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा

रुकुमपूर्व, । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् । पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो । उहाँका १६० माहुरी घार छन् । उहाँका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ ।

अहिले परिवारका चार सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँका माहुरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताउनुभयो । उहाँले पोखरा घरमा, दान र माहुरी खर्कससँगै सिस्ने–५ को रुवाबाङमा माहुरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारको माहुरी सबै अरिङ्गालले सकेको उहाँको भनाइ छ । यस्तै पोखराकै अर्का माहुरीपालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको बताउनुभयो । उहाँले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताउनुभयो ।

परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाउनुभयो । पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताउनुभयो । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।

यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिङ्गालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.