चितवन । भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पतालको संचालक समितिको सोमबार बिहान बसेको बैठकले पौडेललाई कार्यकारी निर्देशक चयन गरेको हो ।
पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदिप न्यौपानेको नाम सिफारिस भएको सदस्य डा. अनिल बिक्रम कार्कीले बताए । उनीहरुमध्ये पौडेललाई नियुक्त गरिएको हो । अस्पतालको नियमावली अनुसार संचालक समितिले कार्यकारी निर्देशक चयनका लागि सिफारिस समिति बनाउनु गर्ने प्रावधान छ।
डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमिति बनेको थियो । कार्यकारी निर्देशकको पदावधि तीन वर्षको हुन्छ । पौडेल अस्पतालका मेडिकल अन्कोलोजिष्ट हुन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत छन् ।
अस्पताल साढे तीन महिनादेखि कार्यकारी निर्देशकविहीन भएको थियो । कार्यकारी निर्देशक नहुँदा अस्पतालको सेवा प्रभावित भएको थियो । अस्पतालको फार्मेसीमा बीमा र विपन्न सहायता सेवाअन्तर्गत सरकारले दिँदै आएको औषधि सकिएको थियो । अस्पतालमा दैनिक प्रयोग हुने स्वास्थ्य सामाग्री अभाव भएपछि झन समस्यामा परेको थियो ।
