गणतन्त्र दिवसको अवसरमा भौतिक दुरी कायम गर्दै दिपावली गर्न आग्रह

गणतन्त्र दिवसको अवसरमा भौतिक दुरी कायम गर्दै दिपावली गर्न आग्रह image

१५ जेठ २०७७ काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही शुभकामना सन्देश दिनुभएको छ । विहिबार गणतन्त्र दिवस– २०७७ को अवसरमा शुभकामना सन्देश दिनुभएको हो । शुभकामना सनदेशमा भनिएको छ । नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा सञ्चालन गरेका बलिलदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभाबाट मिति २०६५ जेठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा भएको थियो । गणतन्त्र दिवस २०७७ को यस गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

गणतन्त्र स्थापनाको लागि ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफनो ज्यानको आहुती दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सवैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

कोरोना भाइरस (कोभिड– १९) ले श्रृजना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैंका वर्ष झै यो वर्ष व्यापक हर्षउल्लासका साथ भव्यतापूर्वक गणतन्त्र दिवस मनाउन सक्ने अवस्था हाम्रासामु रहेन । गणतन्त्र दिवसको अवसरमा यस वर्ष भौतिक दुरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावली लगायतका कार्यक्रमहरु गर्न आग्रह गर्दछु ।

विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड– १९) ले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । हरेक समस्याको सामाधान अवश्यंभावी भएकोले कोभिड– १९ ले ल्याएको संकट पनि सामाधान गर्ने विश्वास दिलाउदै अहिलेको परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्दछु । बरु सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास लिएको छु । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन अनुरोध गर्दछु ।
विश्व मानव जातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको हाम्रो अभियानमा केही अवरोध उत्पन्न गरेको छ । विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्न प्रदेश सरकारको ध्यान केन्द्रित रहेको छ । कोभिड–१९ को प्रभाव अझै केही समय रहने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत कोभिड प्रतिकार्यमा केन्द्रित गरिनेछ । वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सवैखाले बाधा, अवरोध र चुनौतीहरुको सामना गर्दै प्रदेश सरकार लागिरहने विश्वास दिन चाहन्छु ।
अन्तमा, गणतन्त्र दिवस– २०७७ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियान सफल बनाई सामाजिक न्यायसहितको समाजवादी राज्यव्यवस्था स्थापनाका लागि हामी सवैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित पुनः शुभकामना व्यक्त गर्दछु ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda