भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

गाई-भैँसीमा ‘लम्पि स्किन’ समस्या

गाई-भैँसीमा ‘लम्पि स्किन’ समस्या

इलाम । गाई भैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखा परेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’ रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे ।

‘लम्पि स्किन’ रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको सूर्योदयका पशु शाखा प्रमुख विपिनकुमार सिंहले जानकारी दिए । उनका अनुसार किर्ना, भुसुना, झिँगा, लामखुट्टे आदिको माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलने क्रम धेरै छ ।

उनले भने, ‘रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो । हालसम्म प्राप्त जानकारीअनुसार हाम्रो नगरपालिकामा पाँच पशु मरेका छन् । संक्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने, किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।’

गत वर्ष छिमेकी जिल्ला झापामा समस्या बनेको सो रोग यस वर्ष गत असोजदेखि फाट्टफुट्ट देखा पर्न थालेको थियो । सुरुमा इलामको रोङ गाउँपालिकामा देखा परेको रोग अहिले जिल्लाका माईजोगमाई, सन्दुकपुरलगायतका अन्य थुप्रै पालिकामा समेत फैलिएको छ । माईजोगमाईका पशु किसान कुमार थापाको लैनो गाईमा उक्त रोग देखापरेपछि छिमेकीका पशुमा समेत देखा परेको थियो ।

उनले भने, ‘यो हावाको माध्यमबाट सर्दो रहेछ । कोरोनाकालमा मान्छे मर्ने त्रास थियो । अहिले गाई मर्ला कि भन्ने पीर बढ्यो ।’ दिनको १८ लिटर दूध दिँदै गरेको गाईमा रोग आएपछि आधा उत्पादन घटेको उनको भनाइ छ । यो रोग लागेपछि पशुलाई सार्वजनिकस्थलमा चरनका लागि लैजान नहुने, अन्य वस्तु भाउको सम्पर्कमा आउन नदिने, जैविक सुरक्षामा ध्यान दिने, गोठ सरसफाइ गर्ने काम गरेपछि यसको नियन्त्रण हुनसक्ने चिकित्सक भुपाल पोख्रेलले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.