काठमाडौं । आफ्नै दलका मान्छे कुनै प्रकरणमा जोडिए अनुसन्धानको दायरामा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्देशन दिएका छन् । कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुसँगको भेटवार्ताका क्रममा प्रचण्ड स्वयंमले आफुले निर्देशन दिएको जानकारी दिए ।
कुनै पनि प्रकरणमा जोडिए अनुहार नहेर्न सीआईबीलाई प्रचण्डले भनेका छन् । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएपछि प्रचण्डमाथि समेत प्रश्न गर्न थालिएको छ ।
त्यसपछि प्रचण्डले महराको समेत बयान लिनुपर्ने बताएका थिए । यसैबीच बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सरकारी कागजात किर्ते गरि व्यक्तिको नाममा जग्गा पु¥याएको भन्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न माग दाबी गरेको छ ।
उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । यता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई सहयोग गर्न अपिल गरेका छन् ।
यता नेकपा एकीकृत समाजवादी पार्टी नेपालका सम्मानित नेता झनलाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारसँग कुनै नयाँ योजना नरहेको आरोप लगाएका छन् ।
प्रचण्ड सरकारमाथि खनिएका खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनिएपनि कतै कार्यान्वयन नभएको दाबि गरेका छन् ।
गौर प्रकरणका दोषीलाई कारबाही गर्न पत्राचार
गौर प्रकरणमा दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए ।
केहिदिन पहिले मात्रै सत्ता गठबन्धनले गौर प्रकरणमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई अप्ठ्यारो पर्ने भएकाले पछि हट्ने बताएको थियो । तर, गृहले यसमा कारबाही अघि बढाउन सक्रियता देखाएको छ ।
१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो ।
