जनताको साथमा कांग्रेसको १५ दिने अभियान

जनताको साथमा कांग्रेसको १५ दिने अभियान

काठमाडौं । आउँदो चुनावलाई लक्षित गरी नेपाली कांग्रेसले आजदेखि १५ दिने ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । पहिलो चरणको अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने नेपाली काँग्रेसले जनाएको छ ।

अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने लक्ष्य राखेको काँग्रेस नेता प्रकाशमान सिंहले बताए । ‘अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ ? र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्ने उनको भनाइ छ ।

‘कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल गरिने सिंहले बताए । अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने बताए ।

स्थानीय तहको निर्वाचनमा देखिएका आपसी द्वन्द्वलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने काँग्रेसले नीति लिएको छ । प्रदेश कार्यसमितिले पनि प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाउने सिंहले बताए । गठबन्धनको अवस्थाका साथै कांग्रेसको सम्भावनाका बारेमा अभियान केन्द्रित हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

उनले भने, ‘यो अभियानले कांग्रेसलाई थप ऊर्जाशील र गतिशील बनाउँछ, अरू पार्टीसँग तालमेलको मोडेलका बारेमा पनि विशेष छलफल हुन्छ ।’ महरले स्थानीय तहको जस्तै यो अभियान पनि सबै वडासम्म पुग्ने बताए । महरले कांग्रेसले र गठबन्धनले जित्ने हरेक उपायका बारेमा अन्य दलसँग छलफल हुने जानकारी दिए ।

आगामी निर्वाचन कांग्रेसका लागि अवसर भएको कांग्रेस केन्द्रीय सदस्य धना खतिवडाले बताए । खतिवडाले स्थानीय तहको निर्वाचनबाट पार्टीले र गठबन्धनले पाठ सिकेकाले जहाँ जसको बलियो सम्भावना छ त्यसलाई आधार बनाउनुपर्नेमा जोड दिए ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जितेकालाई यो गठबन्धनबाट फेरि पनि टिकट दिनुपर्छ भन्ने तर्क व्यावहारिक नभएको जिकिर गरे । त्यति बेला र अहिलेको परिस्थिति फरक भएकाले सचेत रहन आग्रह गरे ।

अभियानले कांग्रेसका र गठबन्धनका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने लुम्बिनी प्रदेशका कांग्रेस प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले बताए । स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्न सकियो भने गठबन्धनलाई फाइदा हुने उनको भनाइ छ ।

अभियान चलाइने बारे पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । कांग्रेसले दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि गर्ने जनाएको छ । तेस्रो तथा निर्णायक अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने प्रवक्ता महतले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.