भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ

बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ

एजेन्सी, ५ मंसिर । बङ्गलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विभिन्न स्थानमा आगजनी, तोडफोड र घरेलु बम विस्फोटका घटना भएका छन् । राजधानी ढाकामा प्रहरीले प्रतिबन्धित अवामी लिगसँग सम्बन्धित १२४ जनालाई पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप चुलिएको हो । उहाँको पार्टी अवामी लिगले सरकारद्वारा राहदानी तथा परिचयपत्र उपलब्ध गराउने अनुरोध अस्वीकार गरिएको विरोधमा राष्ट्रव्यापी बन्दको आह्वान गरेको थियो ।

यसैबीच, अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा बुधबार राति आगजनी भएको थियो । प्रहरीका अनुसार घरको प्रयोगमा नरहेको भुइँतलाको कोठामा आगो लागेको थियो । प्रहरी गस्ती टोलीले आगो निभाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

बुधबार नै नडाइल जिल्लामा मोटरसाइकल र्‍यालीमा सहभागी सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई समर्थकको आक्रमणमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि विभिन्न स्थानमा राजनीतिक कार्यकर्ता, सार्वजनिक सम्पत्ति, सवारीसाधन तथा कार्यालयलाई लक्षित गरी आगजनी र तोडफोडका घटना भएका छन् ।

प्रहरीले यी हिंसात्मक घटनामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । प्रधानमन्त्री तारिक रहमानले पनि अवामी लिगले देशलाई अस्थिर बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, यी आरोपबारे अवामी लिगको पक्षबाट स्वतन्त्र पुष्टि उपलब्ध छैन ।

हिंसात्मक घटनापछि सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । देशका विभिन्न जिल्लामा सुरक्षा बल परिचालन गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार पछिल्ला दिनमा दर्जनौँ स्थानमा बम विस्फोट, सवारीसाधनमा आगजनी र सडक अवरोधका घटना भएका छन् ।

यसैबीच, ढाकास्थित उच्च अदालतले देशभरका सार्वजनिक विश्वविद्यालयमा हुने प्रवेश परीक्षा आगामी डिसेम्बर ३१ सम्म स्थगित गर्न आदेश दिएको छ । उच्च माध्यमिक तहको पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई पनि विश्वविद्यालय प्रवेश परीक्षामा अवसर दिनुपर्ने मागसहित परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

तर उक्त आदेशविरुद्ध सरकार र ढाका विश्वविद्यालयले पुनरावेदन गरेका छन् । सर्वोच्च अदालतले यससम्बन्धी सुनुवाइ नोभेम्बर २३ का लागि तोकेको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछि उहाँ भारतमा बस्दै आउनुभएको छ । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.