भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

देवघाट धाममा स्नान गर्नेको भीड

देवघाट धाममा स्नान गर्नेको भीड

भरतपुर । पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ ।

भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनले मेलामा सुरक्षालगायतका व्यवस्थापनका काम गरिएको बताए । साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ । गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ ।

अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ । औँसी तिथि र सोमबार एकै दिन परेकाले आज सनातन धर्मावलम्बीले सोमबारे औँसीसमेत मनाउँछन् । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ ।

मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो । देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक सङ्घसंस्थाले साउने सङ्क्रान्ति सोमबार परेकाले सङ्क्रान्तिको दिनबाहेक अन्य सोमबार खासै महत्व नभएको बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुईवटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने सङ्क्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीका लागि उचित समय नभएको बताए ।

चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

 


Thali Mobile Pvt.Ltd.