भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

काठमाडौँ । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ ।

धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले जानकारी दिनुभयो । पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् ।

प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ ।

उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो । महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.