भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ, । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका ९तीज०को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने बताए । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् । पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । यसपटक पाँच महिनापछि पशुपतिनाथलगायत यस क्षेत्रका मन्दिर भक्तजनका लागि खुला गर्न लागिएको हो ।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको सुनाए। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ । भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ । दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ । विसं २०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । सुरुमा दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो । बिहान ६ः०० देखि अपराह्न २ः०० बजेसम्ममात्र मन्दिर भक्तजनका लागि खुला गरिएको थियो । भक्तजनका लागि मन्दिर खुला गरिए पनि विदेशी पर्यटकका लागि भने पशुपति क्षेत्र विसं २०७६ चैतदेखि नै बन्द गरिएको छ । पशुपति क्षेत्रका सबै टिकट काउन्टर पनि त्यसै बेलादेखि बन्द छन् । पर्यटकको टिकटबाट कोषलाई प्राप्त हुने करोडौँ रुपैयाँ उठ्न छाडेको छ ।

 


Thali Mobile Pvt.Ltd.