भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित

गोलबजार । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर बाढीले बगाएपछि बेल्ही गाउँ असुरक्षित भएको हो ।

सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पु¥याएपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले नौ सय मिटर जतिको तटबन्ध लगाएको थियो । तर बिहीबार रातिको बाढीले ५० प्रतिशत तटबन्ध बगाएको वडा नम्बर–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले बताए ।

तटबन्ध बगाएर बेल्ही नयाँ टोलका १५ घरपरिवार जोखिममा परेका छन् भने मोती गुप्ता, भुटाइ गुप्ता, गङ्गाराम यादव, सजन यादव, बैजनाथ यादव, मुस्तकिम मियाँ घरमा पानी पसेको छ । अहिले पानीको स्तर कम भए पनि जोखिम कायमै रहेको वडाध्यक्ष झाले जानकारी दिए । उनले भने, “बाढीले तटबन्ध भत्किदाँ किसानले लगाएको धानबालीमा व्यापक क्षति भएको छ ।”

स्थानीयवासीले जिल्लाबाट आएका प्रशासनका टोली र बलान बिहुल गाउँपालिकाले भत्किएको बाँध बनाई बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन सप्तरीले बनाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको स्थानीय महेन्द्र यादवले गुनासो गरे ।

“यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला । सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ”, उनले भने । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको स्थानीय विश्वनाथ यादवले बताए । उनका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको छ । ‘गुणस्तरीय बाँध निर्माण नहुँदा बाँध भत्किएको हो ।

लगातारको वर्षाले बलान नदीमा आएको बाढीले बलान बिहुल गाउँपालिका–१ मल्हनियाँ–२ दिघिया–३ दुधैला–४ बेल्हीमा बाढीको पानी पसेको गाउँपालिकाले जनाएको छ । कटान नियन्त्रणका लागि चारवटै वडामा जेसिभी तयारी अवस्थामा राखिएको र बाढीबाट हुने असरलाई कम गर्न जनचेतनामूलक सन्देश माइकिङमार्फत भइरहेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।

प्रजिअसहितका टोलीद्वारा स्थलगत निरीक्षण

बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए ।

टोलीमा उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख रमणकुमार साहलगायतको उपस्थिति थियो ।

प्रत्येक वर्ष आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान भूमिहीन बन्दै गएको छ । बलान नदीमा स्थायी तटबन्ध नबन्दा घरबस्ती सार्दासार्दै स्थानीयवासी हैरान भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.