‘भिजिट २०२०’ सफल पार्न भादगाउँले पहिचान दिदै भक्तपुर

‘भिजिट २०२०’ सफल पार्न भादगाउँले पहिचान दिदै भक्तपुर image

भक्तपुर । सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट अभियान सुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको ‘भिजिट नेपाल–२०२०’ का लागि भक्तपुर नगरपालिकाले विविध कार्यक्रमको पत्रकारसम्मेलन मार्फत घोषणा गरेको छ ।

सन् २०२० सफल बनाउन नगरभित्रका सडक, होटल, पथमार्ग सफाई समेत गर्ने भएको छ । नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्य भएको भन्दै आज भक्तपुर नगरपालिकाले भ्रमणवर्ष सफल्ताका लागि पत्रकारहरुसंग छलफल गरेको हो ।

विश्वसम्पदा सूचीमा सूचिकृत अद्धितीय र अनुपम नेपालका सम्पदाहरु पर्यटकीय आकर्षणका केन्द्र भएकाले सोचे भन्दा बढी पर्यटक नेपालमा भित्रीने भएकाले सबै मिलि अगाडि बढ्नु पर्ने नगरपालिकाले बताएको छ । उपत्यका भित्रका सातवटा विश्व सम्पदा मध्य भक्तपुर दरबार क्षेत्रको महत्व विशाल रहेकोले पर्यटकका लागि भक्तपुरको कला र संस्कृति अनि दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र विशेष आकर्षणका केन्द्र भएको नगरपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले थुप्रै सम्पदाहरु लोप भइसकेको र कयौं लोपोन्मुख अवस्थामा रहेको भन्दै सम्पदा लोप हुन देशकै लागि अपुरणीय क्षति भएकाले यसको संरक्षण र संवद्धन गर्न जरुरी रहेको बताए ।

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने मुल नारा दिएर भक्तपुर नगरपालिकाले कला र संस्कृतिको संरक्षणमा जोड दिएको भन्दै प्रजापतिले पुर्खाले सयौं वर्ष अगाडि निर्माण गरेको ५५ झ्याले दरबार, ङातापोल मन्दिर, सुनढोका, भैरवनाथ मन्दिर लगायत पाटी-पौवा, ढुंगेधारा, पोखरी, सत्तल, बिहार जस्ता सम्पदा जीवन्त रहनुले संसारभरका लाखौं पर्यटक भक्तपुर भ्रमण गर्न आएको बताए।

नगरलाई शिक्षा, स्वास्थ्यमा उत्कृष्ट, सरसफाइमा नमुना, कला संस्कृति संरक्षित एक आदर्श नगर र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न जोड दिएको जानकारी दिदै नगरप्रमुख प्रजापतिले २०७२ सालको विनासकारी भूकम्पले भक्तपुरका ८ हजार घर र १ सय १५ भन्दा बढी सम्पदामा क्षति पुगेको र ती सम्पदाहरु विदेशीको
सहयोग बिना भक्तपुर नगरपालिकाले पुनर्निर्माण र जीर्णोद्धार गरीरहेको जानकारी दिए ।

नगरपालिकाले क्षतिग्रस्त सम्पदाहरुमध्ये ९१ बटा पुनर्निर्माण र जीर्णोद्धार सम्पन्न गरीसकेको र डेढ दर्जन निर्माणाधीन अवस्थामा रहेको जनाएकाे छ । कार्यक्रममा नगरप्रमुख प्रजापतिले आर्थिक वर्ष २०७६/७७ साउन देखि मंसिर सम्मको ५ महिनाको अवधिमा गैर सार्क पर्यटक ६६,८६० जना र चिनियाँ तथा सार्क मुलुकका ४७,२८० गरी १,१४,१४० जना पर्यटकले भक्तपर भ्रमण गरेको जानकारी दिए ।

त्यस्तै २०७५/७६ सालको सोही अवधिमा गैर सार्क पर्यटन ६७,२७८ जना, चिनियाँ र सार्क मुलुकका ४५,८६७ जना
पर्यटक गरी जम्मा १,१३,१४५ जनाले भक्तपुर भ्रमण गरेको बताए । गत वर्षको तुलनामा यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकको संख्या १००५ जनाले कमी आएको भन्दै आर्थिक वर्षको प्रारम्भमै देंगु रोगको महामारी फैलने, भारत र
पाकिस्तान बीच काश्मिर विवाद चर्किनु, कोटेश्वरमा घण्टौं जाम पर्नुले भक्तपुरमा आउने पर्यटक कम हुनुको मुख्य कारण भएको जानकारी दिए । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना निकै चुनौतीपुर्ण रहेको ईंगित गर्दै प्रजापतिले सबैको प्रयासले भने असम्भव नरहेको बताए ।

भनपाको भ्रमण वर्ष लक्षित कार्यक्रम
नगरपालिकाले भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रमको आयोजना गरेको छ । पर्यटन केन्द्रित विभिन्न गतिविधि सार्वजनिक गर्दै भक्तपुर भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन नगरपालिकाले सम्पदा क्षेत्रमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्ने जनाएको छ ।

बास बस्ने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सन्ध्याकालीन पाटी-पौवामा भजन गाउने, चोक-चोकमा सांस्कृतिक प्रदर्शन गर्ने, पर्यटकले कुनै किसिमको असहजता महसुस नगरुन् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालय निर्माण तथा महत्वपूर्ण सम्पदास्थलमा गाडी निषेध गर्ने कार्य गरिरहेको जनाएकाे छ ।

यतिमात्रै होईन स्थानीय पथप्रदर्शकलाई तालिम दिएर व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न क्षमता अभिवृद्धि तालिम सञ्चालन, चिनियाँ र जापानी भाषाको कक्षा पनि सञ्चालन गर्दै आएको प्रमुखले जानकारी दिए ।
नगरपालिकाद्वारा सञ्चालित कलेजमा होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम विषयको पठनपाठन तथा नगरभित्रका सबै विद्यालयहमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरी पर्यटन विषय अध्यापन गर्दै आएको नगरपालिकाले जनाएकाे छ।

त्यस्तै आन्तरिक र बाह्य पर्यटकका लागि विश्व प्रसिद्ध ५५ झ्याले दरबार हरेक मगलबार र शुक्रबार खुल्ला गर्ने, पर्यटकका लागि सुरक्षित भक्तपुर भन्ने सन्देश दिन आपराधिक घटना हुन नदिन प्रमुख पर्यटकीय स्थानमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी स्थानीय प्रहरी साझेदारी कार्यक्रम अनुसार अपराध न्युनीकरण गर्ने काम नगरपालिकाले गरिरहेको छ ।

महोत्सवको तयारी
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ५ दिनसम्म भक्तपर महोत्सव गर्ने जनाएको छ । महोत्सव व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय मूल समारोह समिति गठन समेत गरिसकेको छ ।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगिता लगायतका कार्यक्रम गर्नुका साथै नेवारी परम्परागत जीवनशैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी, माटाका भाँडा बनाउने सीप प्रदर्शनीलगायतका गतिविधि गरी महोत्सवलाई भव्य रुपमा
सम्पन्न गर्ने योजना रहेको जनाएको छ ।

त्यस्तै माघ २ गते राष्ट्रिय भूकम्प सरक्षा दिवसको अवसरमा भक्तपुरमा मूल समारोह हुने भन्दै फागुन महिनामा जिल्लास्तरीय धिमेबाजा प्रतियोगिता गर्ने नगरपालिकाले जानकारी दिएको छ । कार्यक्रममा नगर उपप्रमुख रजनी जाेशी, नगरका सबै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत दिपक काेइराला, विभिन्न संचारमाध्यमका संचारकर्मी, पर्यटन व्यवसायिकाे उल्यख्य सहभागिता रहेकाे थियाे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda