भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन् ।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चैती छठ सुरु हुनपूर्व चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र (चैते दसैँ) पनि सुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म वासन्ती नवरात्र मनाइन्छ । यस अवसरमा देवीपीठमा पूजाआराधना गर्ने श्रद्धालु बढेका छन् । यसैगरी हिन्दू धर्मावलम्बीका यी चाडसँगै इस्लाम धर्मावलम्बीले पनि शुक्रबार नै पवित्र रमजान महिनाको रोजा व्रत सुरु गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.