भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान

जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान

मुख्य बुँदा

मुस्ताङको घरपझोङ गाउँपालिकाले ४९ बुँदे जलवायु परिवर्तनसम्बन्धी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा जलवायु न्यायलाई मुख्य मुद्दाका रूपमा अघि सारिएको छ ।

हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन माग गरिएको छ ।

हिमनदी तथा हिमतालको निगरानी र पूर्वसूचना प्रणाली विस्तारमा जोड ।

स्थानीय तहलाई प्रत्यक्ष, पर्याप्त र अनुदानमुखी जलवायु वित्त उपलब्ध गराउन माग ।

जलवायु परिवर्तनबाट हुने हानि तथा क्षति र विस्थापनलाई सम्बोधन गर्न विशेष संयन्त्रको माग ।

महिला, सीमान्तकृत समुदाय र युवाको जलवायु शासनमा सहभागिता बढाउनुपर्नेमा जोड ।

हिमाली क्षेत्रमा जलवायु सङ्कटको वैज्ञानिक अध्ययन र अनुसन्धानमा लगानी बढाउन आह्वान ।

सात प्रदेशका ४२१ स्थानीय तह तथा ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सम्मेलनमा सहभागी ।

मुस्ताङ, १ असोज । मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु न्यायलाई मुख्य मुद्दाका रूपमा अघि सार्दै ४९ बुँदे घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३ जारी गरेको छ ।

‘हिमालको आवाज, स्थानीय तहको सङ्कल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारीः जलवायु न्यायका लागि साझेदारी’ भन्ने मूल नारासहित आयोजना गरिएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणापत्र जारी गरिएको हो ।

घरपझोङ गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा जलवायु सङ्कटलाई विकाससँग जोडेर हेर्नुपर्ने, जलवायु न्यायलाई मूल मुद्दा बनाउनुपर्ने तथा हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकतामा राख्नुपर्ने विषय समेटिएका छन् ।

त्यसैगरी जलवायु जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्वसूचना र पूर्वकार्य प्रणालीको विकास, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा जोखिममा आधारित भू–उपयोग र सुरक्षित बस्ती विकासमा जोड दिइएको छ ।

जलस्रोत र कृषि संरक्षणमा जोड

घोषणापत्रमा जलवायु अनुकूलन तथा प्रकृति संरक्षणअन्तर्गत जलस्रोतको संरक्षण र जलसुरक्षाको सुनिश्चितता गर्नुपर्ने उल्लेख छ । जलवायु अनुकूल कृषि तथा पशुपालन, जीविकोपार्जन, जैविक विविधता, पारिस्थितिक प्रणाली र दिगो पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

जलवायु वित्त तथा स्रोत परिचालनतर्फ स्थानीय तहमा जलवायु वित्तको प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्ने, अनुदानमुखी जलवायु वित्तको व्यवस्था गर्नुपर्ने तथा स्थानीय जलवायु कोष र जलवायु बजेटमा पारदर्शिता कायम गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।

हानि तथा क्षतिसँगै विस्थापनको मुद्दा

जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षतिको मान्यता, जलवायुजन्य विस्थापन तथा बसाइँसराइ र हिमाली समुदायको अस्तित्व संरक्षणलाई समेत घोषणापत्रले प्राथमिकतामा राखेको छ ।

महिला तथा सीमान्तकृत समुदायको नेतृत्व विकास, स्थानीय ज्ञानको सम्मान र युवाको सहभागितासहित समावेशी तथा स्थानीय नेतृत्वमा आधारित जलवायु शासनको आवश्यकता औँल्याइएको छ । त्यस्तै स्थानीय जलवायु सूचना प्रणालीको विकास, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माण र ज्ञान आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख छ ।

हरित अर्थतन्त्र र स्थानीय तहको भूमिका

घोषणापत्र जारी गर्दै अध्यक्ष लालचनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हरित रोजगारी तथा उद्यम, नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने बताए ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै बहुस्तरीय जलवायु शासनलाई प्रभावकारी बनाउनुपर्ने तथा स्थानीय तहको संस्थागत क्षमता वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थानीय तहको आवाजलाई बलियो बनाउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हिमाली क्षेत्रको जलवायु सङ्कटबारे वैज्ञानिक अध्ययन तथा अनुसन्धान बढाउन, हिमनदी र हिमतालको नियमित निगरानी गर्न तथा पूर्वसूचना प्रणाली विस्तारका लागि पर्याप्त लगानी गर्न आह्वान गरिएको छ ।

नेपालका स्थानीय तहलाई जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका लागि प्रत्यक्ष, पर्याप्त, पूर्वानुमानयोग्य र अनुदानमुखी जलवायु वित्तमा पहुँच सुनिश्चित गर्न पनि माग गरिएको छ ।

जलवायु परिवर्तनबाट भएको तथा भविष्यमा हुन सक्ने हानि तथा क्षति सम्बोधन गर्ने अन्तर्राष्ट्रिय संयन्त्रलाई स्थानीय तह र समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

जोखिमअनुसार जिम्मेवारी बाँडफाँटको माग

जलवायुजन्य विपद्का जोखिमको तथ्यमा आधारित मूल्याङ्कन तथा नक्साङ्कन गरी उच्च जोखिम भएका क्षेत्रमा सङ्घीय सरकार, मध्यम जोखिम भएका क्षेत्रमा प्रदेश सरकार र कम जोखिम भएका क्षेत्रमा स्थानीय सरकारले काम गर्ने गरी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

स्थानीय तथा आदिवासी ज्ञान, प्रकृतिपूजक संस्कृति, प्रकृति संरक्षण तथा समुदायको अधिकारलाई जलवायु समाधानको आधारका रूपमा मान्यता दिनुपर्ने घोषणापत्रमा उल्लेख छ । सङ्घीय सरकारले स्थानीय तहको आवश्यकता र जोखिमको प्रकृतिअनुसार जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनसम्बन्धी प्राविधिक जनशक्ति उपलब्ध गराउन पहल गर्नुपर्ने मागसमेत गरिएको छ ।

मुस्ताङको कालीगण्डकी नदी तथा अन्य सहायक खोलामा प्राकृतिक स्रोत थुप्रिँदा तटीय क्षेत्र जोखिममा परेको भन्दै नदी उत्खननसम्बन्धी कानुन संशोधन तथा आवश्यक नयाँ कानुनी व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ । घरपझोङ गाउँपालिकाले सम्मेलनअघि सहभागी स्थानीय तहसँग जलवायु परिवर्तनबाट परेको असर, न्यूनीकरण तथा अन्य विषयमा सुझाव मागेको थियो ।

प्राप्त सुझावका आधारमा तयार गरिएको घोषणापत्रको मस्यौदा सम्मेलनको दोस्रो तथा अन्तिम दिन स्थानीय तहका प्रतिनिधिको सुझावसहित पारित गरिएको हो । सम्मेलनमा सातै प्रदेशका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.