भर्खरै : Sorry, your browser does not support inline SVG.

धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम, १ असोज । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला, ग्राम खैनाका ३५ वर्षीय राधाकान्त बयाग्रे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको कमान्डमा खटिएको गस्ती टोलीले भारततर्फबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा बयाग्रेको साथबाट स्रोत नखुलेको नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीका अनुसार बरामद रकम कपडाको पेटीभित्र लुकाई कम्मरमा बाँधेर राखिएको अवस्थामा फेला परेको थियो । सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नगद बोकेर आवतजावत गरिरहेको र गतिविधि शंकास्पद देखिएपछि प्रहरीले मोटरसाइकल रोकेर खानतलासी गरेको जनाएको छ ।

बरामद रकमको स्रोत, रकम कहाँबाट प्राप्त भएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । साथै रकमसँग अन्य व्यक्ति वा कुनै कारोबारको सम्बन्ध भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका बयाग्रेमाथि वित्तीय कारोबारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.