भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत

जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत

रसुवा, १ असाेज । भदौ १० गते नेपालमा भोटेकोशी क्षेत्रमा बाढी आएको खबर जापानमा रहेका रेशम कुमार डंगोलले सामाजिक सञ्जालमार्फत थाहा पाए । सुरुमा उनले देखेका तस्बिर तथा भिडियो पत्याउनै कठिन भयो । तर, बाढीले बस्तीका बस्ती बगाएको दृश्य र समाचार लगातार सार्वजनिक हुन थालेपछि उनको मनमा बेचैनी बढ्दै गयो ।

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६ श्रमथलीमा जन्मिएका डंगोलका लागि ती दृश्य सामान्य विपद्को समाचार थिएनन् । त्यही ठाउँमा उनको बाल्यकाल बितेको थियो । आफू हुर्केको ठाउँ, साथीभाइ, आफन्त र परिचित अनुहारहरू सम्झँदा उनी नेपाल आएर पीडितका लागि केही गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे ।

बाढी गएको चार दिनपछि उनी नेपाल आइपुगे ।

विगत १६ वर्षदेखि जापानमा बस्दै आएका डंगोलले नेपालदेखि जापानसम्म आफ्नो व्यावसायिक यात्रा बनाएका छन् । तर, यसपटकको नेपाल यात्रा व्यवसाय वा व्यक्तिगत कामका लागि थिएन । आफ्नै जिल्लाका बाढीपीडित नागरिकको दुःखमा साथ दिन उनी नेपाल आएका हुन् ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले डंगोलको सेभन समुराई इन्टरनेशनल र सुजुकी युनाइटेड एफसीको संयुक्त आयोजनामा राहत सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा नेपाली जनसम्पर्क समिति जापानले ३ लाख २५ हजार ७७७ रुपैयाँ सहयोग गरेको थियो । विभिन्न व्यक्ति तथा संस्थाको सहकार्यमा समेत राहत रकम सङ्कलन गरिएको थियो ।

सङ्कलित रकममा डंगोलले आफ्नो कम्पनी तथा व्यक्तिगततर्फबाट करिब ५ लाख रुपैयाँ थप गरे । त्यसबाट बाढी तथा विपद्का कारण ज्यान गुमाएका १५० परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत वितरण गरिएको छ । नौकुण्ड गाउँपालिकाका ६३, उत्तरगया गाउँपालिकाका ४२ र गोसाइँकुण्ड गाउँपालिकाका ३४ परिवारलाई राहत उपलब्ध गराइएको छ । त्यस्तै, साडेछोलिङ विहारमा रहेका मृतकका परिवारलाई एकमुष्ट २ लाख ४ हजार रुपैयाँ नगद राहत प्रदान गरिएको छ ।

डंगोलले तत्कालका लागि पीडित परिवारको दैनिक जीवन सहज बनाउन नगद सहयोग गरिएको बताए । तर, बाढीका कारण धेरै परिवारले घरमूली तथा आम्दानीको मुख्य स्रोत गुमाएकाले उनीहरूको भविष्यका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।बाढी तथा पहिरोका कारण कतिपय परिवारले अभिभावक गुमाएका छन् । बालबालिका अभिभावकविहीन बनेका अवस्थामा उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्य सुनिश्चित गर्न दीर्घकालीन सहयोग आवश्यक रहेको डंगोलले बताए ।

उनका अनुसार तत्कालीन राहतपछि अबको प्राथमिकता पीडित परिवारको पुनःस्थापना, जीविकोपार्जन र बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु हो । विदेशमा बसेर व्यावसायिक जीवन बिताइरहेका डंगोलका लागि बाढीपीडितलाई गरिएको सहयोग आर्थिक सहायता मात्रै होइन, जन्मभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको अभिव्यक्ति पनि हो ।

‘विदेशमा भए पनि मन सधैँ नेपालमै हुन्छ । आफ्नै ठाउँका मानिस दुःखमा परेका बेला सकेको सहयोग गर्नु आफ्नो दायित्व सम्झिएको छु,’ उनले भने । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ ।

पीडित परिवारलाई रोजगारी, आयआर्जन, आवास तथा बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउन राज्य, स्थानीय तह, निजी क्षेत्र र प्रवासी नेपालीबीच निरन्तर सहकार्य आवश्यक देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.