भर्खरै : Sorry, your browser does not support inline SVG.

रौतहटमा गोली लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

रौतहटमा गोली लागेर एक जनाको ज्यान गयो, तीन जना घाइते

रौतहट । रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा हिजो गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

गोली लागेर स्थानीय राजकुमार राय यादवको ज्यान गएको हो । विवादका क्रममा गोली लागेका रायलाई उपचारका लागि वीरगञ्ज पठाइएको भए पनि बाटोमै ज्यान गएको एसपी बुढामगरले बताउनुभयो ।

गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको १२ बोरको बन्दुक बरामद गरिएको र घटनाको अनुसन्धान भइरहेको एसपी बुढामगरले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.