भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

लालीगुराँस फूलले रङ्गिए म्याग्दीका वन

लालीगुराँस फूलले रङ्गिए म्याग्दीका वन

काठमाडौं । “गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरसाइकलमा हिँड्नुको मज्जै बेग्लै”, शनिवार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न गएका शोभित घिमिरेले भने, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्ती(बस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ ।”

स्वर सम्राट नारायण गोपालको गीत झैँ, यतिबेला म्याग्दीका वन, जङ्गल लालीगुराँसका फूलले रङ्गिएका छन् । वनैभरि फुलेका लालीगुराँसका जङ्गलबाट उत्तरतिर देखिने चाँदी झैँ टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जङ्गलमा रौनक बढेको छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट पर्यटकीय स्थल टोड्के आएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त थिए । उनीसँगै आएका साथीहरू पनि लालीगुराँसमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे । फागुनदेखि जेठसम्मको लालीगुराँस फुल्ने समय हो । राष्ट्रिय फूल समेत रहेको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जङ्गल र डाँडाकाँडामा पनि आगन्तुकको भिड देख्न सकिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वन पाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीय स्थल केभहिल, भकिम्ली, टोड्केलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

वन पाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि दुई हजार आठ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार दुई सय १० मिटरमा रहेको पुनहिल आसपासको वन, जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेका छन् । नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा आठ प्रजातिका गुराँस फुल्ने गरेका छन् ।

लालीगुराँसकै छेडोबाट देखिने सेताम्मे हिमाल र मनमोहक प्राकृतिक छटामा मन्त्रमुग्ध हुँदै घुम्नेहरूको सङ्ख्या बाक्लो हुँदै गएको बेनी नगरपालिका–२ का स्थानीय नारायण सापकोटाको भनाइ छ । “जङ्गलैभरि लालीगुराँस र गुराँस हेर्नका लागि आएका आगन्तुकहरू मात्रै देखिन्छन् । कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन्”, सापकोटाले भने । म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्मे फुलेका लालीगुराँसको लालिमाले हरियो वन जङ्गलमा थप सुन्दरता प्रदान गरेको छ ।

लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवापुस्ता मात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यालयका विद्यार्थी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका बेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्बिर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।

सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साबिकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्मे भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक डाँडामा पुग्ने गरेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो । लालीगुराँस फुलेपछि फागुन र चैतमा वन जङ्गल रङ्गीबिरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.