भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछः सांसद सापकोटा

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछः सांसद सापकोटा

काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”

जनमत पार्टीकी नेतृ गोमालाभ सापकोटाले भनिन्, “सदनमा आएपछि कानुन निर्माणसँगै आफूले प्रतिनिधित्व गरेको ठाउँको विकास निर्माण गरौँ भन्ने थियो, त्यो नसक्ने परिस्थिति देखियो ।” निर्वाचन क्षेत्र विकासका लागि बजेट माग्दा सरकारले आर्थिक सङ्कट र राजस्व असुली कमजोर देखाउने गरेको उल्लेख गर्दै उनले भनिन्, “मन्त्री र प्रधानमन्त्रीका जिल्लामा भने त्यो लागू भएन । शक्तिशाली नेताले भनेको मात्रै लागू हुँदोरहेछ ।”

प्रदेश र स्थानीय तहको विकास निर्माणको आ–आफ्नै शैली र क्षेत्र रहेको उल्लेख गर्दै सांसद सापकोटाले सङ्घीय सांसदले पनि मतदाताका अपेक्षा पूरा गर्नु प्राथमिक दायित्व भएको विचार प्रकट गरिन् । “कानुन निर्माण पनि गर्नुपर्छ, तर जनताले जिताएर पठाइसकेपछि उनीहरूको पनि विकास निर्माणमा आशा र अपेक्षा हुन्छ, त्यसलाई जनप्रतिनिधिले सम्बोधन गर्न कोसिस गर्नुपर्छ”, उनले भनिन् ।

छोटो राजनीति यात्रामै सङ्घीय संसद्मा पुग्ने जनप्रतिनिधि बन्न सफल सांसद सापकोटा कानुन तर्जुमा र विकास निर्माणबीच तादम्यता मिलाएर जाँदा देश र जनताको हित नै हुने तर्क गर्छिन् । महोत्तरीको महोत्तरी गाउँपालिका–३ स्थायी ठेगाना भई विसं २०७६ देखि राजनीतिमा प्रवेश गरेकी उनीसँग जनमत पार्टी महोत्तरीको जिल्ला अध्यक्ष भएर काम गरेको अनुभव छ ।

सामाजिक एवं जनचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दै आएकी सांसद सापकोटाले राजनीतिमा आउनुअघि १० वर्ष शिक्षिका भएर काम गरिन् । सांसदको मूल दायित्व कानुन बनाउने सन्दर्भमा गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनी सदनमा आएपछि विकासको पाटोबाट पनि जनताप्रति सांसदको केही कर्तव्य रहने बताउछिन् ।

राजनीतिक सिद्धान्त, दृष्टिकोण र अभ्यास तथा सांसदप्रति समाजको बुझाइबीच ठूलो भिन्नता रहेको उल्लेख गर्दै उनले ठूला दलले भागबण्डा एवं आवश्यक चासो नदिएकाले मूल विषय कानुन निर्माण ओझेलमा परेको प्रतिक्रिया दिइन् । सदनमा प्रतिपक्षी दलले कतिपय अवस्थामा स–साना विषय उठाएर जनभावनाविपरीत सदन अवरोध गरेको घटना सुनाउँदै सांसद सापकोटाले संसद् अवरुद्ध हुँदा पर्ने प्रभाव र बाधा अड्चनको मूल्याङ्कन जरुरी रहेको धारणा राखिन् ।

एक प्रश्नको जवाफमा उनले कतिपय जनप्रतिनिधिले संविधान र प्रतिनिधिसभा नियमावलीभन्दा बाहिर गएर सदनमा दिने अभिव्यक्ति र प्रस्तुतिले बोलेका विषय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने गरेको बताइन् ।

सांसद सापकोटाले भनिन्, “नियमावलीको परिधिभित्र रही निर्वाचन क्षेत्र, जिल्ला, देश र दुनियाँको कुरा सदनमा उठाउन पाइन्छ, कुनै रोकटोक हुन्न । तर बोल्दा नियमावलीको उल्लङ्घन गरिनुहुन्न ।” परिवार पाल्न रोजगारीका लागि कुनै पनि नेपाली विदेश जान पर्ने बाध्यात्मक अवस्था नआओस्, देशमै काम दिन सकियोस्, त्यसका लागि काम गरौँ भन्ने उद्देश्य लिएर सदनमा आएको उल्लेख गर्दै उनले जनतासँग पनि त्यही भनी मत मागेको घटना सुनाइन् ।

डा चन्द्रकान्त ९सीके० राउत अध्यक्ष रहेको जनमत पार्टीबाट प्रतिनिधिसभामा चार महिला र दुई पुरुष सांसदको प्रतिनिधित्व छ । सो दल प्रतिनिधिसभामा आठौँ ठूलो राजनीतिक पार्टी हो । सांसद सापकोटाले भनिन्, “भ्रष्टाचार निर्मूल पार्ने पार्टीको धारणा छ, हामीले सदनमा बारम्बार यही मुद्दा उठाउँदै आएका छौँ । तर ठूला भनिएका दलले त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।”

मुलुकको विकास निर्माणमा संलग्न हुनुपर्ने युवाशक्तिलाई स्वदेशमै स्थापित गर्न चाल्नुपर्ने कदमबारे पार्टीले सरकारलाई सुझाव दिँदै आएको सांसद सापकोटाले बताइन् । जनताले आगामी दिनमा यस्ता समस्या र पीडा भोग्न नपरोस् भनी जनचेतामूलक अभियान एवं जनजागरण कार्यक्रम गरिरहेको उनले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.