शिक्षाको बैकल्पिक प्रयोगमा ‘त्रिभुजीय शिक्षा’

शिक्षाको बैकल्पिक प्रयोगमा ‘त्रिभुजीय शिक्षा’ image

वर्तमान शैक्षिक पद्धतिका कारण देशमा अनगिन्ती समस्याहरु सृजना भैरहेका छन । हाम्रो शिक्षाले न स्वयं व्यक्तिलाई खुसि र सफलता दिन सकेको छ, न आफ्नो परिवार तथा समाजको भलाई नै, न त देशलाई आवश्यक दक्ष रास्ट्रवादी जनशक्ति नै उत्पादन गर्न सकेको छ ।

खाली वेरोजगार, वैदेशिक अदक्ष कामदार उत्पादनका कारखाना मात्रै बनेका छन् हाम्रा शिक्षण संथाहरु । जतासुकै अन्याय, भ्रष्टाचार, लुटमार, चोरीडकैती, जस्ता अमानवीय क्रियाकलाप मात्रै देखिन्छन् । यो सबै को कारण हाम्रो शिक्षा पद्धतीमा केही खोट छ कि ? अध्यायन र अनुसन्धान गर्नु पर्ने भएको छ ।

हामी एकले अर्कोलाई दोष दिएर आफु चोखो देखिन खोज्दै छौं । नेता खराब भए, कर्मचारी खराब भए, शिक्षक खराब भए, जनता खराब भए, बुद्धिजीवी खराब भए भन्दै दोष अरुलाई लगाएर मात्रै समस्या समाधान हुन सक्दैन । सम्पूर्ण पक्षहरुमा देखिएका समस्याको प्रमुख कारण मात्रै एउटा हो शिक्षा राम्रो नहुनु र सबै समस्याको समाधानको एक मात्रै उपाय हो शिक्षा राम्रो हुनु ।

कुनै पनि व्यक्ति जन्मजात भ्रष्ट हुदैन । चोर डाँका हुदैन, बलात्कारी हुदैन, अन्याय र अत्याचार गर्ने हुदैन, शोषक सामन्त हुदैन, कुनै पनि विकृति विसंगतिको रछ्यानमा डुवेको हुदैन । यी सबै अवस्था सृजना गर्ने अहिलेको शैक्षिक अवस्थाले मात्रै हो । बालकको पहिलो पाठशाला घर हो ।

उस्ले घरमा के सिक्यो ? समाजका दौतरीहरुबाट के सिक्यो ? विद्यालयबाट के सिक्यो ? समाजबाट के सिक्यो ? त्यो नै अहिलेको अवस्था हो । “विद्या ददाती विनयम्“ अथवा विद्याले नै विनयशीलता दिन्छ भनिन्छ तर व्यवहारमा मानवीय पन खस्किरहेको छ । वर्तमान शिक्षाको आधारलाई हेर्दा अनगिन्ती चुनौतीहरु रहेका छन् ।

शिक्षामा आमुल परिवर्तन गर्न 

१) करिब तीन हजार वर्ष पहिलेका थोत्रा धमिरो लागेका, कुप्रथा, कुरितिहरु, अमानवीय अवशेष र धार्मिक, साँस्कृतिक, चालचलन, रितिरिवाज, प्रचलन, पद्धति, अनुभव, अनुभुतीको आधारमा सामाजिक संरचना चलेको छ ।

जुन वर्तमान विज्ञान र प्रविधिको युगसंग सुहाउँदो र समय सापेक्ष छैन । विभिन्न रुढिवादी, प्रथा, विभेदकारी प्रथाले समाज कुरुप भएको छ । हाम्रो सम्पूर्ण सामाजिक, साँस्कृतिक अनुभवहरुलाई विज्ञानको कसिमा घोटेर नविकरण गर्नु पर्ने छ ।

२) अहिले समान योग्यता, क्षेमता, अनुभव भएका व्यक्तिहरुबीच पनि एउटालाई पछि पार्ने र आफु अगाडि जानु अनिवार्य छ । जसले सिकायत गर्ने, दोषारोपण गर्ने र निषेध गर्ने काम भैरहेको छ । अमर्यादित प्रतिस्पर्धाले थुप्रै विकृति सृजना भएका छन । जसले मानवीयता कमजोर भैरहेको छ । यसको विकल्पमा पनि नयाँ चिन्तनको आवश्यक छ ।

३) पढे पछि जागिर खानै पर्ने, ठुलो पदमा पुग्नै पर्ने, धेरै पैसा कमाउनै पर्ने, भावनाले नै समाजका वर्तमान विसंगति सृजना भएका हुन । पढेको व्यक्ति स्वावलम्वि, आत्मनिर्भर, सृजनसिल हुनुपर्नेमा अहिले परनिर्भर धेरै देखिन्छन् । यी सबै समस्या समाधानका लागि नयाँ चिन्तन आवस्यक छ ।

४) पढेका अधिकांस व्यक्तिहरुले पढे अनुसारको काम पाएका छैनन् । प्रत्येक व्यक्तिले आफ्नो ईच्छा, रुचि र चाहना अनुसारको अध्यायनको अवसर नहुदा र व्यावसायिक शिक्षा नहुदा यस्तो अवस्था भएको हो ।

५) सबैभन्दा धेरै अनैतिक, भ्रष्ट, दुर्वयसनी, कुलतमा लाग्नेहरु पढेलेखेका बढी छन । सबैभन्दा धेरै पढेका व्यक्ति सबै भन्दा सबै क्षेत्रमा राम्रो हुनु पर्ने हो, तर ठिक उल्टो भैरहेको छ । कतै शिक्षा भित्र खोट छ कि ? खोज्नु परेको छ ।

६) धेरै व्यक्तिमा आफुले पढेको विषयमा कुनै दक्षता छैन, रुचि पनि छैन । एक विषय पढ्ने तर जिविको पार्जन अर्कै बिषयमा भैरहेको छ । आफ्नो लागि नपढेर वाध्यताले अरुका लागि पढेको जस्तो छ । पढेर खुसि छ न त सफलता नै छ । न आनन्द किन यस्तो ? धेरै पढे धेरै खुसि हुनु पर्नेमा किन धेरै असन्तोषि ? जवाफ खोज्नु छ ।

यी तमाम् कारणले गर्दा यो शिक्षा पद्धतिले समाज परिवर्तन हुदैन । व्यक्ति खुसि र सुखि हुन सक्दैन । तसर्थ वर्तमान शिक्षालाई आमुल परिवर्तन गर्नु पर्नेमा अधिकांस व्यक्तिहरु सहमत छन् तर यसको सट्टामा कस्तो शिक्षा दिने भन्ने मा ठोस अवधारणा दिने नविनतम चिन्तनहरु धेरै छैनन् । कैयौं देशले विज्ञान र प्रविधिमा धेरै विकास गरे ।

देशको चौतर्फी विकास गरे तर पनि ती देशहरुमा शान्ति छैन । जनताहरु खुसि छैनन्, विसंगति झनै बढेका छन्, काटमार र लुटपाट बढिरहेको छ। मानवीयता हराएको छ । सामाजिक भावना छैन । प्रत्येक व्यक्तिको अनुहारमा हाँसो छैन । तनावै तनाव मात्रै छ । किन यस्तो भैरहेको छ त ?

आहार, निन्द्रा, भय, मैथुन पशुु र मानिसमा समानता छ तर मानिस किन पशु भन्दा माथि उठ्न नसकेर चक्रव्युमा नाचिरहेको छ ? यी सबै वर्तमान शिक्षा कारणले सृजना भएको अवस्था हो । यी सबै चुनौतीको समाधान गर्दै मानिसलाई सफल कसरी बनाउने ?

प्रत्येक मानिसलाई दक्ष कसरी बनाउने ? भन्ने सम्बन्धमा नेपाली धर्तीमा नवीन चिन्तनका पर्बर्धक डा एन पथिकले शिक्षामा नयाँ चिन्तन “त्रिभुजिय शिक्षा“को अवधारणा अगाडि सारेका छन् । नेपालको शिक्षाले बैकल्पिक बाटो ‘त्रिभुजिय’ शिक्षालाई पनि प्रमुख छलफलको सुचिमा ल्याउने उदेश्यले छोटो प्रयास गरिएको छ ।

त्रिभुजिय शिक्षा
प्रचलित शिक्षाले मानिसको चाहना पूरा गर्न नसक्ने भएकोले वास्तविक धरातलमा उभिएर क्षेमताको पुर्ण विकास गर्ने दक्ष, सफल नागरिक तयार पार्ने यसको प्रमुख उदेश्य हो । प्रचलित शिक्षालाई बदलेर तीन भुजा भएको त्रिभुजिय शिक्षाकोरुपमा विकास गर्न खोजिएको छ ।

तिनवटा भुजामा
पहिलो भुजा हो ‘खुट्टा’ जस्ले यथार्थ धरातलमा दृढतापुर्वक, क्षेमतापुर्वक अगाडि बढ्न सकोस ।
दोस्रो भुजा हो ‘हात’ जस्ले कुसलतापुर्वक काम गर्दै शान्ति स्थापनामा हातेमालो गर्न सकोस ।
तेर्साे भुजा हो ‘मस्तिष्क’ जसले मानिसका दायाँ बायाँ मस्तिष्कको सन्तुलित विकास गरी विज्ञानको विकास गर्न सकोस भन्ने हो । आचार्य डाटिएन पथिकका अनुसार त्रिभुजिय शिक्षालाई यसरी व्यक्त गरिएको छ ।

शिक्षाको जग
क) मानवीय शिक्षा : म मनिस कसरी बने ? असल नागरिक कसरी बन्ने ? स्वास्थ्य र आदर्श नागरिक कसरी बन्ने ? सफल र असल नागरिक कसरी बन्ने ? आदि विषयबस्तु सिकाउने शिक्षा नै मानवीय शिक्षा हो ।

ख) दक्षता शिक्षा: काम गर्ने अन्तरप्रेणा, अन्तरसिपको स्वतस्फूर्त विकास गराउने शिक्षा नै दक्षता शिक्षा हो । यसले आत्मनिर्भर, स्वलम्वि व्यक्तिको निर्माण गर्छ ।
ग) विज्ञान शिक्षा ः अहिलेको भन्दा धेरै प्रयोगात्मक, अझै व्यावहारिक, अझै व्यावसायिक शिक्षा हुनुपर्छ । पढेको व्यक्तिले केही गर्न सकोस । आफ्नो र देशको उन्नति गर्न सकोस भन्ने नै विज्ञान शिक्षा हो ।

त्रिभुजिय शिक्षाको जग
१) आहार
२) प्रहार
३) संहार
यसको अर्थ हो आहार नभए शरीर पनि चल्दैन । प्रहार नभए सुन पनि गल्दैन र पुरानो नभत्काए सम्म नयाँ बन्दैन भन्ने हो । अथवा सम्पुर्ण पुरानो शिक्षाको सम्पुर्ण संरचना परिवर्तन गरेर मात्रै नयाँ शिक्षाको जग बसाल्नु हो ।

तीन मस्तिष्क
मानिसका तीनवटा मस्तिष्क हुन्छन् । तीन वटाको समुचित विकास गराउने काम नयाँ शिक्षाले गर्न सक्छ । जो यसप्रकार छन ।

१) देब्रे मस्तिष्क ः यसलाई कन्सियस व्रेन वा चेतन मन भनिन्छ । यसले सुचना संग्रह गर्ने र सम्प्रेसण गर्ने काम गर्छ । अहिलेसम्म मानिसको बढिमा १५% मात्रै यो मस्तिष्क सक्रिय भएको अनुसन्धानले देखाएको छ ।

२) दाहिने मस्तिष्क ः यसलाई सव कन्सियस व्रेन वा अवचेतन मन पनि भनिन्छ । मानिसलाई वृहत प्रतिभाशाली, वृहत सृजनशील, वृहत भावनात्मक यो मस्तिष्कले बनाउछ । शिक्षामा भावना, प्रतिभा, सृजना र विज्ञान जोडेमा यो मस्तिष्क सक्रिय हुन्छ । जब दाहिने मस्तिष्कमा शिक्षा पुग्छ तब मात्रै व्यक्ति भित्रको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुन्छ ।

३) पछाडिको मस्तिष्क ः यसलाई मेडुला वा अव्लंगेटा भनिन्छ । मानवबाट महाँमानव बनाउने काम यो मस्तिष्कले गर्दछ । यसरी त्रिभुजिय शिक्षाले देव्रे मस्तिष्कलाई सुचनामुखी मानवीय शिक्षा दिने, दाहिने मस्तिष्कलाई दक्षता, विज्ञान, प्रतिभा, सृजनाको शिक्षा दिने र पछाडिको मस्तिष्कलाई अत्याधिक सफलतामा पुर्याउन मानवीयतालाई उच्च श्रेणीमा राखेर नयाँ मानव बनाउने काम गर्छ । यसरी तीन शिक्षाले मात्रै सुख, शान्ति, प्रसन्नता, सम्पन्नता र आनन्दको खजना प्राप्त गर्न सकिन्छ । हिंसा, क्रोध र अमानवीयता हराएको मनुष्य निर्माण गर्दछ ।

त्रिभुजिय शिक्षा एउटा कोरा कल्पना नभएर व्यावहारिक जिवनमा विज्ञानको कसिले घोटेर लागू गर्ने शिक्षा हो । यस शिक्षाका चिन्तक आदर्णिय आचार्य डा पथिकले आफ्नै सक्रियतामा काठमाडौंको सतुंगलमा एउटा ज्ञान निकेतन विद्या मन्दिरको स्थापना गरेर सफल परिक्षण गरिसक्नु भएको छ । जहाँ शिक्षालाई पुर्णतया श्रमसंग जोडिएको छ ।

हाम्रो पर्चलनमा भएका कक्षा १,२,३,४…को सट्टामा विषयगत कक्षाहरु संचालन छन् । जस्तै विज्ञान कक्षा, गणित कक्षा, नेपाली कक्षा, संगीत कक्षा आदि । घण्टी बजे पछि विद्यार्थी आ–आफ्नो समय तालिका अनुसार कक्षा कोठामा जान्छन् । तर शिक्षक एउटै कोठामा आफ्ना विषयका शैक्षिक सामाग्री सहित तयारीमा हुन्छन् ।

अनिवार्य एक घण्टी श्रम गर्नु पर्ने छ र श्रमलाई उच्च सम्मान दिने परिपाटी छ । सामुहिक श्रम, सामुहिक भान्षा, सामुहिक खाना, बसाई विद्यार्थीको रुचि, चाहना र क्षेमताको शिक्षकले गहिरो अध्यायन गरि उपयुुक्त वातावरण बनाउने काम गर्छन । विद्यार्थीहरु रुचि अनुसार खेलकुद, संगीत, नृत्य स्वतस्फूर्त गरेको पाईन्छ । आफ्नै कृषि फार्म छ । गाई फार्म छ ।

आवश्यक खाद्य वस्तु सकेसम्म आफैले अगार्निक उत्पादन गर्ने व्यवस्था गरिएको छ । कुनै विभेद छैन । नियम र पालो अनुसार शिक्षक र विद्यार्थी दुबैले कर्म गर्नै पर्छ । करिब १५० जनाको परिवार रहेको पथिक फाउन्डेसनको नामबाट चितवन नजिकै देवघाटमा र काठमाडौंको सतुंगलमा दुईवटा केन्द्रबाट त्रिभुजिय शिक्षा तथा विभिन्न मानिसलाई महामानव बनाउने अभियान सञ्चालन भैरहेको छ ।

व्यक्तिगत चिन्तन र पहलमा भएका शैक्षिक सुधारका पहललाई नेपाल सरकारले पनि सहयोग र प्रोत्साहन गरेर नयाँ चिन्तन र सोचलाई प्रयोगमा ल्याउने सम्बन्धि छलफल र बहस गरौं ।

जे.पि. तिमिल्सिना, चामुण्डा विन्द्रासैनी नगरपालिका, दैलेख

नोटः यो लेख आचार्य पथिक ज्यु का विभिन्न प्रवचन तथा स्थलगत अध्यायन, भेटघाट र छलफलबाट तयार पारिएको हो । 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda