काठमाडौं । १० मध्ये नौ समितिमा निर्विरोध नेतृत्व चयन भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा छ।
आज प्रतिनिधि सभा अन्तर्गतका १० विषयगत संसदीय समितिको सभापति चयन हुँदैछ । हिजो ती समितिका सभापतिको लागि मनोनयन दर्ता भएको थियो । मनोनयनका क्रममा १० संसदीय समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।
नौ वटा समितिमा एक एक जनाको उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइसकेका छन् । अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकै आरजु राणाको उम्मेदवारी परेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कांग्रेसकै रामहरी खतिवडाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रकी विमला सुवेदीले कानून, न्याय तथा मानवअधिकार समितिमा उम्मेदवारी दिएकी छिन् ।
शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन् ।
नेकपा (एमाले)का ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति, एमालेकै किरणकुमार साहले महिला तथा सामाजिक समितिमा उम्मेदवारी दिएका छन् ।
यसैगरी पूर्वाधार विकास समितिमा राप्रपाका दीपकबहादुर सिंहको उम्मेदवारी परेको छ । समितिका सभापति चयनका लागि आज दिउँसो ३ बजे बैठक भस्ने भएको छ ।
