स्याङ्जाको ‘ऐतिहासिक सत्र पोखरी’ भ्रमण गर्ने पर्यटक बढ्दै

स्याङ्जाको ‘ऐतिहासिक सत्र पोखरी’ भ्रमण गर्ने पर्यटक बढ्दै

काठमाडौं । स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएपछि त्यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

अग्लो पहाड र सम्म भू-भाग रहेको सत्र पोखरीमा पूर्वाधार बिना वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए । वडाध्यक्ष बोधराज कुँवरका अनुसार आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको हो ।
त्यस ठाउँको गुरुयोजना बनाएर काम अघि बढाइएको र पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास उनले लिएका छन् । गत वर्ष वालिङ नगरपालिका कार्यालयबाट प्राप्त तीन लाखमा दुई वटा पोखरी बनाइएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट दश लाख विनियोजन भएको छ ।

उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क आदि निर्माण कार्य गरिँदैछ । वडाध्यक्ष कुँवरका अनुसार अहिले व्यवस्थित पार्कसहित वनभोज खान आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिएको छ । स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट मानिसहरू घुम्न तथा वनभोजका लागि उक्त स्थानमा पुग्ने गरेको सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापा जनाएका छन् ।
उक्त स्थानमा तीन वटा पोखरी निर्माण भएका छन् । उपभोक्ता समितिका अध्यक्ष थापाका अनुसार उक्त स्थानमा अरू चौध वटा थप गरी यहाँको ऐतिहासिक महत्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।

साभारः himaldarpan.com बाट..

 


Thali Mobile Pvt.Ltd.