पाल्पा । कोरोना संक्रमण तीव्र रुपामा बढिरहेको वेला आइसोलेसन र अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यले प्राथमिकता पाएको छ । देशका विभिन्न स्थानीय तहहरुले यस्ता कार्य गरिरहेका छन् । यस्तै पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् ।
पाल्पाका प्रत्येक स्थानीय सरकारले आवश्यकता अनुसार अक्सिजनको सिलिण्डर खरिद गरी कोरोना अस्पताल तथा आइसोलेसन वेडहरुमा राखेका छन् । देशका विभिन्न स्थानमा अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना सक्रमितको मृत्यु बढेपछि अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरेको स्थानीय तहहरुले जनाएका छन् ।
कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर छटपटि रहेको समयमा पाल्पाका स्थानीय सरकारले कोभिड अस्पताल तथा अक्सिजन, चिकित्सकसहितको आइसोलेसन कक्ष संचालनमा ल्याएका हुन । स्थानीय सरकारबाट उपलब्ध चिकित्सक, अहेव तथा स्टाफ नर्सहरु जटिल किसिमका कोरोना बिरामीहरुको उपचारमा जुटेका छन् ।
पाल्पाका १० वटै स्थानीय सरकारले आ–आफ्नो पालिकाभित्र पाँच देखि १५ बेडको कोरोना अस्पताल निर्माण गरी विरामीको उपचार गर्दै आएका छन् । पालिकाहरुले जटिल कोरोनाका विरामीलाई लक्षित गरी २० देखि ५० वेडसम्मको अक्सिजन जडानसहितको आइसोलेसन कक्ष निर्माण गरेका छन् ।
पाल्पामा हालसम्म ६८ जना कोरोना सक्रमितहरुको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सक्रमणमा १ हजार ४ सय ८४ जना संक्रमित भएका छन् । जसमा ७९ जना अस्पतालहरुमा र १ हजार ४ सय ५ जना होम आइसोलेसनमा रहेका छन् ।गाउँपालिकाभित्र जटिल देखिएका र होम आइसोलेसनमा सार्स फेर्न कठिन भएका कोभिड विरामीहरुलाई लक्षित गरि पालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको जनाइएको छ ।
