भर्खरै : Sorry, your browser does not support inline SVG.

आज आमनिर्वाचन विहानै देखि मतदाता उत्साहित, मतगणना आजैबाट

आज आमनिर्वाचन विहानै देखि मतदाता उत्साहित, मतगणना आजैबाट

काठमाडौं । मङ्सिर ४ गते आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन भइरहेको छ । संविधान जारी भएपछि दुवै सभाका लागि हुन लागेको यो पहिलो आवधिक निर्वाचन हो । २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा यी सभाको निर्वाचन भएको थियो । मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन गर्ने भनेर मिति घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुई पटक प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । तर प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि मध्यावधि निर्वाचनको प्रयास असफल भएको थियो ।

सात हजार २१९ पर्यवेक्षक
निर्वाचन आयोगले आमनिर्वाचनमा सात हजार २१९ जना पर्यवेक्षक परिचालन हुने जनाएको छ । दुईवटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाका १२ जना र ४४ वटा स्वदेशी संस्थाका सात हजार २०७ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । निर्वाचनको निष्पक्षता अभिवृद्धि गर्न तथा पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता बढाउन आयोगले तटस्थ संस्थाहरूबाट पर्यवेक्षण गराउँदै आएको छ ।

निर्वाचन अवलोकनका लागि १८ वटा कूटनीतिक नियोगले आयोगबाट अनुमति लिएका छन् । भारत, बङ्गलादेश, भुटान र माल्दिभ्स गरी चार राष्ट्रका प्रमुख निर्वाचन आयुक्त, दक्षिण कोरियाका आयुक्त र जापानका ‘स्टेट मिनिस्टर’ले निर्वाचनको अवलोकन गर्नेछन् ।

मतगणना आजैबाट
मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले तीन दिनभित्र प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न गर्ने तयारी गरेको छ । सदरमुकामबाट टाढा रहेको निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जसअनुसार गणना कार्यसमेत सम्बन्धित क्षेत्रमै रहेको निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका बुझिसकेपछि मतगणना तयारी गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ९मतगणना० निर्देशिकाबमोजिम सर्वदलीय छलफल गरी मतगणनासम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराएर सहमतिमा मतगणना सुरु गर्नेछन् ।

सहायक प्रवक्ता भुसालले प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको गणना एकैपटक सुरु हुने बताए । प्रत्येक निर्वाचन क्षेत्रका लागि छ जनाको मतगणना टोली रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले आवश्यकताअनुसार एउटा निर्वाचन क्षेत्रमा अधिकतम १५ स्थानमा मतगणना गर्न सक्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.