भर्खरै : Sorry, your browser does not support inline SVG.

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड

काठमाडौँ, ११ मंसिर । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने तथा रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य र सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा नेपालले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले सम्मेलनलाई सम्बोधन गर्दै निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गरिन् ।

उनले विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तर्राष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता पनि दोहोर्‍याइन् । राजदूत लम्सालले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको स्पष्ट पारिन् ।

उनले अतिकम विकसित मुलुकहरूको संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धिका लागि रासायनिक हतियार निषेध सङ्गठनको निरन्तर सहयोग, तालिम र क्षमता विकास आवश्यक रहेको बताइन् ।

त्यसैगरी, कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा नेपालले जोड दिएको छ । ब्रसेल्सस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलनमा नेपालले राखेका धारणा र प्रतिबद्धताबारे जानकारी दिइएको हो ।

 


Thali Mobile Pvt.Ltd.