काठमाडौँ, ११ मंसिर । सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार यस अवधिमा नेपालका ५० वटा हिमाल आरोहणका लागि उनीहरूलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा १ हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।
हिमाल आरोहणको अनुमति लिने विदेशी आरोहीमध्ये सबैभन्दा धेरै फ्रान्सका छन् । विभागको तथ्याङ्कअनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२ र जर्मनीका १०२ आरोहीले अनुमति लिएका छन् ।
त्यस्तै, नेपालका ९०, स्पेनका ५६, स्विट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक गणतन्त्रका ४२ आरोहीले पनि अनुमति लिएका छन् ।विभागले हिमाल आरोहण अनुमति शुल्कबापत सरकारलाई ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
विभागका अनुसार ५० वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत २१ लाख ९७ हजार ७१० अमेरिकी डलर बराबरको रकम सङ्कलन भएको हो ।
