कञ्चनपुर । उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिन थालेको छ । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेको हो । जसको टोकाईबाट स्थानीय बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जना डेङ्गुका बिरामी देखापरेका छन् ।
यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ । स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरिरहेको जनाएको छ ।
डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको
चिकित्सकले बताएका छन्।
कसरी लाग्छ डेङ्गु ?
डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन म। अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ।
एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।
गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउने गर्नुपर्छ।
डेङ्गु ज्वरो र बच्ने उपायहरू
डेङ्गु ज्वरो एक भाइरसको सङ्क्रमण हो । यो ज्वरो एडिज एजिप्ती नामको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो डेङ्गु भाइरस नामको भाइरसबाट हुने रोग हो । डेङ्गु भाइरसका चारवटा प्रजातिहरू छन् । त्यसैले, ती चार प्रजातिका भाइरसले छुट्टाछुट्टैरूपमा एकजना मानिसलाई चार पटकसम्म डेङ्गु ज्वरो आउन सक्छ ।
चर्को खालको डेङ्गु ज्वरोले मानिसको मृत्युसमेत हुनसक्ने भएकोले डेङ्गु ज्वरोका बिरामीहरूको उपचार स्वास्थ्यकर्मीहरूबाट गराउनुपर्दछ । डेङ्गु ज्वरोको छिटोभन्दा छिटो पहिचान गरी त्यसको सही व्यवस्थापन गर्नुपर्दछ । यसको विशेष उपचार पद्धति हालसम्म उपलब्ध भएको छैन ।
समयमै पहिचान तथा उपचारले डेङ्गुबाट हुने मृत्युलाई १ प्रतिशतभन्दा कम गर्न सकिन्छ । डेङ्गु ज्वरो उष्ण तथा समशितोष्ण सहरी तथा सहर वरिपरिका बस्तीहरूमा विश्वभरि नै पाइने रोग हो । डेङ्गुका बिरामीहरू विश्वभरि नै नाटकीय ढङ्गले वृद्धि भएको छ । विश्वभरि हरेक वर्ष १० करोडदेखि ४० करोड मानिसहरूलाई डेङ्गु ज्वरो हुने गर्दछ ।
तीमध्ये १० प्रतिशत मानिसलाई सामान्य खालको लक्षण वा लक्षणै देखानपर्ने पनि हुनसक्छ । डेङ्गु ज्वरोको नियन्त्रण तथा रोकथामको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको नियन्त्रण नै हो । यसमा समाजको सक्रिय र महत्वपूर्ण भूमिका रहन्छ । धेरैजसो डेङ्गु भाइरस सङ्क्रमण सामान्य रोगको रूपमा देखापर्ने भए पनि चर्को खालको डेङ्गु सङ्क्रमणको जटिलता प्राणघातक पनि हुने गर्दछ ।
डेङ्गु ज्वरो सर्वप्रथम १९५० को दशकमा फिलिपिन्स र थाइल्यान्डमा भएको डेङ्गु महामारीको बेला पत्ता लागेको हो । डेङ्गु ज्वरोमा एक प्रजातिको सङ्क्रमणपछि अर्को प्रजातिको डेङ्गु भाइरसले सङ्क्रमण भयो भने चर्को खालको डेङ्गु हुने गर्दछ । डेङ्गु ज्वरोले मानवीय स्वास्थ्यमा असर गर्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्थामा क्षति पु¥याएको हुन्छ ।
साथै डेङ्गु रोग फैलिने मौसममा अस्पतालका धेरैजसो खाटहरू (बेड) डेङ्गुका बिरामीले भरिएका हुुन्छन् । विश्वभरिका डेङ्गु ज्वरोका बिरामीहरूमध्ये करिब ७० प्रतिशत बिरामी एसियाली मुलुकहरूका देशमा हुने गर्दछ । नेपालमा केही वर्ष अघिसम्म तराईका जिल्लाहरूमा देखिने गरेको डेङ्गु ज्वरो हालका वर्षहरूमा काठमाडौँ उपत्यकालगायत अन्य पहाडी जिल्लाहरूमा देखिएको छ ।
डेङ्गु ज्वरोका लक्षण तथा चिह्नहरूः
अधिकांश डेङ्गु सङ्क्रमित व्यक्तिमा लक्षण देखिँदैन । देखिएकोमा सामान्य खालको ज्वरो, खोकी वा जीउ दुख्ने हुन्छ । लामखुट्टेले टोकेको ४ देखि १० दिनमा देखिने लक्षण सामान्यत: २ देखि ७ दिनसम्म रहन्छ ।
उच्च ज्वरो १०४ सहित तलका लक्षणहरूमध्ये कुनै दुई लक्षणहरू हुनेलाई डेङ्गु सङ्क्रमणको शङ्का गर्न सकिन्छ ।
१) चर्को टाउको दुख्ने
२) आँखाको गेडी दुख्ने
३) जोर्नी तथा जीउ दुख्ने
४) वाकवाकी आउने
५) ग्रन्थीहरू सुन्निएमा
६) रातो डावरहरू आउने
डेङ्गु ज्वरो सुरु भएको ३ देखि ७ दिनपछि चर्को खालको डेङ्गु हुने गर्दछ । चर्को खालको डेङ्गुमा सेतो रक्तकोष खेर जाने, शरीरमा पानीको मात्रा बढी जम्मा हुने, श्वास फेर्न कठीनाइ हुने, रक्तश्राव हुने तथा अङ्गहरूले काम नगर्ने अवस्था भएमा प्राणघातक हुनसक्छ ।
डेङ्गु सङ्क्रमण लक्षण तथा चिह्नका आधारमा शङ्का गरेपछि परीक्षण विधिबाट पत्ता लगाउन सकिन्छ । डेङ्गु ज्वरोको विशेष उपचार व्यवस्था नभएकोले लक्षणको आधारमा बिरामीको उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप पनि पाइन्छ । तर, हालको अवस्थामा प्रचलनमा देखिँदैन ।
रोकथाम तथा नियन्त्रण
– डेङ्गु सङ्क्रमितले आफूलाई लामखुट्टेको टोकाइबाट जोगाएमा त्यसले अरू मानिसलाई जीवाणु सार्न दिँदैन ।
– लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्नुपर्दछ ।
– लामखुट्टेको टोकाइबाट जोगिन पूरै बाहुला भएको लुगा लगाउने, झूलको प्रयोग गर्ने झ्यालढोकामा लामखुट्टे छिर्न नसकिने जालीखापा प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउनेजस्त ा उपायहरू अपनाउन सकिन्छ ।
– लामखुट्टेको टोकाइबाट हुने रोगबारे समुदायलाई सजग र सचेत पार्ने कार्य गर्नुपर्छ ।
– लामखुट्टेको निरन्तर खोजी कार्य जारी राख्नुपर्छ र डेङ्गुका कारक लामखुट्टे देखिएमा नष्ट गर्ने विधि दोहो¥याउनुपर्छ ।
