अमेरिका-इरान ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज जलमार्ग खोल्ने सहमति

अमेरिका-इरान ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज जलमार्ग खोल्ने सहमति

एजेन्सी, ३० जेठ । अमेरिका र इरानबीच जारी तनाव र सैन्य संघर्ष अन्त्य गर्ने ऐतिहासिक सम्झौता नजिक पुगेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार दुवै देश युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः खोल्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमत भएका छन् ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वार्ता अन्तिम चरणमा पुगेको र केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्य र सम्झौतामा प्रगति भएको घोषणा गरेका थिए ।

सम्झौता अनुसार इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्नेछ भने अमेरिकाले इरानी जहाज र बन्दरगाहमाथिको नाकाबन्दी हटाउनेछ । सम्झौतापछि ६० दिनको प्राविधिक वार्ता चरण सुरु हुनेछ, जसमा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनेछ ।

साथै संवर्धित युरेनियम भण्डार नष्ट वा बाहिर स्थानान्तरण गर्ने, प्रतिबन्धहरू क्रमशः खुकुलो पार्ने र रोक्का सम्पत्ति चरणबद्ध रूपमा फुकुवा गर्ने सहमति पनि उल्लेख गरिएको छ ।

इरानले मध्यपूर्वमा रहेका आफ्ना प्रोक्सी समूहलाई दिँदै आएको सहयोग बन्द गर्नुपर्ने शर्त पनि सम्झौतामा समेटिएको छ । यो सम्झौता सफल भए मध्यपूर्वको दीर्घकालीन तनाव घट्ने र विश्व ऊर्जा आपूर्तिमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.