काठमाडौं, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतका वर्षमा आफ्नो पार्टी सरकारमा सहभागी भएर गल्ती गरेको स्वीकारेका छन् । विगतमा कांग्रेस, एमालेलगायतको सरकारमा सहभागी भएर आफ्नो पार्टीले गल्ती गरेको स्वीकारेका हुन । विगतमा त्रुटि भएकाले त्यसलाई सच्याएर आदर्शवादी र निष्ठावान पार्टी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । ‘हामीले तातै खाऔं भनेर अलि हतार गर्यौं, सरकारमा गएको आलोचना भयो, जनताले मन परायनन्,’ । काठमाडौं ९५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा थापाले भने, ‘विगतको गल्ती त्रुटि कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउँछौं ।’ कांग्रेस, कम्युनिस्टले अवसर पाएर पनि केही गर्न नसकेको भन्दै उनले यिनको विकल्पका रूपमा राप्रपालाई स्थापित गराउनुपर्ने बताए । मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र उपयुक्त देखिएको दाबी पनि उनले उक्त अवसरमा गरे ।