९ बैशाख २०७७ रौतहट । गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मेयर यादव सहित ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरेको हो ।
कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरिराखेको कुहिएको दाल चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । शिलबन्दी गरिएको सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले सोही कुहिएको दाल राहत स्वरुप वितरण गरेको स्थानीयले उजुरी गरेका थिए ।
अनुसंधानमा कुहिएको दाल वितरणमा दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । ४ बर्ष पुरानो कुहिए दाल वितरण गरेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो । मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।