भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कोभिडले बन्द हाटबजार खुलाइयो

कोभिडले बन्द हाटबजार खुलाइयो

खोटाङ । कोभिड–१९ को सङ्क्रमण जिल्लामा बढ्न थालेपछि महिना दिनअघि अनिश्चितकालीन बन्द गरिएका जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित हाटबजार खुला गरिएको छ ।कोभिड–१९ को तेस्रो लहर सुरु भएपछि गत माघ–६ गतेदेखि अनिश्चितकालीन बन्द गरिएका जिल्लास्थित सबै स्थानीय तहका हाटबजार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसीको शुक्रबार बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमणको घट्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्ने तथा एकै स्थानमा २५ भन्दा बढी उपस्थित नहुने गरी हाटबजार खुला गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले बताउनुभयो ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ ।

हाटबजार बन्द हुँदा कृषिउपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय कृषक मारमा पर्ने गरेका छन् ।जिल्लामा कोरोनाको सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको छ । यसअघि गत माघ २७ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसीएमसीको बैठकले २४ दिनपछि हलेसी मन्दिर खुला गर्ने निर्णय गरेको थियो । डिसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालको अध्यक्षतामा बैठकले गत आइतबारदेखि हलेसी मन्दिरसहित जिल्लास्थित मठमन्दिर, गुम्बा, चर्च र विद्यालयसमेत खुला गर्ने निर्णय गरेको हो ।हलेसी मन्दिर खुलेसँगै एक पटकमा बढीमा १५ जना नबढ्ने गरी दर्शनार्थी प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण १५ जनाले ज्यान गुमाएको यस जिल्लामा पछिल्लो समय ४३ सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वैशाखयता कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या तीन हजार ४७४ पुगेको छ ।विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा हालसम्म आधाले मात्र पहिलो मात्राको खोप लगाएका छन् । जिल्लाका कूल जनसङ्ख्यामध्ये एक लाख १६ हजार ६८९ ले पहिलो र ६७ हजार २९ ले दोस्रो मात्राको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.