२६ जेठ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६ अर्ब ३ करोड खर्च भएको बताएका छन् ।
प्रतिनिधिसभा सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबाट खर्च भएको विवरण प्रस्तुत गरेका हुन् ।
भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेशको तर्फबाट १ सय ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएको जिकिर गरे । यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएका र सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने मन्त्री ढकाले बताए ।
सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैयाँ खर्चमा प्रश्न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गरेका हुन् । उनले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पुरा गरेर जो सुकैले हेर्न सक्ने बताए ।