भर्खरै : Sorry, your browser does not support inline SVG.

गणतन्त्र दिवसको अवसरमा भौतिक दुरी कायम गर्दै दिपावली गर्न आग्रह

गणतन्त्र दिवसको अवसरमा भौतिक दुरी कायम गर्दै दिपावली गर्न आग्रह

१५ जेठ २०७७ काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही शुभकामना सन्देश दिनुभएको छ । विहिबार गणतन्त्र दिवस– २०७७ को अवसरमा शुभकामना सन्देश दिनुभएको हो । शुभकामना सनदेशमा भनिएको छ । नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा सञ्चालन गरेका बलिलदानीपूर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप जननिर्वाचित संविधानसभाबाट मिति २०६५ जेठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा भएको थियो । गणतन्त्र दिवस २०७७ को यस गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

गणतन्त्र स्थापनाको लागि ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफनो ज्यानको आहुती दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सवैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।

कोरोना भाइरस (कोभिड– १९) ले श्रृजना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैंका वर्ष झै यो वर्ष व्यापक हर्षउल्लासका साथ भव्यतापूर्वक गणतन्त्र दिवस मनाउन सक्ने अवस्था हाम्रासामु रहेन । गणतन्त्र दिवसको अवसरमा यस वर्ष भौतिक दुरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावली लगायतका कार्यक्रमहरु गर्न आग्रह गर्दछु ।

विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड– १९) ले श्रृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । हरेक समस्याको सामाधान अवश्यंभावी भएकोले कोभिड– १९ ले ल्याएको संकट पनि सामाधान गर्ने विश्वास दिलाउदै अहिलेको परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्दछु । बरु सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुने विश्वास लिएको छु । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्वन गर्नुहुन अनुरोध गर्दछु ।
विश्व मानव जातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको हाम्रो अभियानमा केही अवरोध उत्पन्न गरेको छ । विकास र समृद्धिको दीर्घकालीन अभियानबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको तात्कालिक समस्या सामाधान गर्न प्रदेश सरकारको ध्यान केन्द्रित रहेको छ । कोभिड–१९ को प्रभाव अझै केही समय रहने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेत कोभिड प्रतिकार्यमा केन्द्रित गरिनेछ । वलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सवैखाले बाधा, अवरोध र चुनौतीहरुको सामना गर्दै प्रदेश सरकार लागिरहने विश्वास दिन चाहन्छु ।
अन्तमा, गणतन्त्र दिवस– २०७७ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियान सफल बनाई सामाजिक न्यायसहितको समाजवादी राज्यव्यवस्था स्थापनाका लागि हामी सवैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित पुनः शुभकामना व्यक्त गर्दछु ।

 


Thali Mobile Pvt.Ltd.