चाप अधिक हुँदा न्याय सम्पादनमा समस्या,प्रति न्यायाधीश ५ सय मुद्दाको फैसला

चाप अधिक हुँदा न्याय सम्पादनमा समस्या,प्रति न्यायाधीश ५ सय मुद्दाको फैसला

बारा । मुद्दाको चाप अधिक हुँदा जिल्ला अदालत बारामा न्याय सम्पादनमा समस्या भएको छ । बारामा हाल ६ जना न्यायाधीश कार्यरत छन् भने यहाँ ७ जना न्यायाधीशको दरबन्दी रहेको छ । एक आर्थिक वर्षमा प्रति न्यायाधीश ५ सय मुद्दाको फैसला गर्नुपर्ने सामान्य नियम छ । तर मुद्दाको चाप अधिक हुँदा जेठ मसान्तसम्म एक नम्बर न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले मात्रै करिब ९ सय मुद्दाको फैसला गरिसकेका छन् ।

जसले हालसम्म ४ हजार ९९ मुद्दा फर्छ्यौट गरिसकेका छन् । अदालतमा कार्यरत ६ जना न्यायाधीश मध्ये मुकेश उपाध्यायले ६१३, प्रकाश राउत ८३५, दिलीराज पन्त ६९२, सुदर्शन लामिछाने ६१३, र मङ्सिरमा आएका न्यायाधीश तारादेवी महर्जनले पनि ४१५ वटा मुद्दाको फैसला गरेकी छिन् । ‘मुद्दाको चाप अधिक हुँदा हामी कर्मचारीहरू सधैँ साँझ साढे ६, ७ बजेसम्म काम गर्छौ’ जोशीले भने । जिल्ला अदालत बारामा सामान्य घर झगडा, अंश, जग्गा किचलो देखि कर्तव्य ज्यान मुद्दा, जबरजस्ती करणीका मुद्दाहरू अधिक आउने गर्दछन् ।

‘न्यायाधीशलाई मुद्दाको लोड हुँदा त्यसको प्रत्यक्ष असर न्याय सम्पादनमा पर्दछ, म्याद थप हुँदा राम्रोसँग हेर्न पाउँदैनन्, बयान, बकपत्र सबै कर्मचारीको भरमा हुन्छ, न्यायाधीश स्वयम्ले हेर्नुपर्ने कतिपय कुराहरू कर्मचारीको भरमा छोड्नुपर्दा त्यसले मुद्दामा प्रत्यक्ष प्रभाव पर्छ’ जिल्ला अदालत बाराका श्रेस्तेदार नवराज जोशीले भने ‘न्यायाधीशको प्रत्यक्ष नियन्त्रणमा हुनुपर्ने विषयहरू कर्मचारीको भरमा छोड्नुपर्दा त्यसले न्याय सम्पादनको गुणस्तरमा कमी हुनसक्छ ।’

बारा जिल्ला अदालतमा गत वर्षको ४ हजार ५३६ मुद्दा फैसला हुन बाँकी रहेकोमा चालु आवमा ३ हजार ९१९ मुद्दा दर्ता भएको छ । जसमध्ये जेठ मसान्तसम्म ४ हजार ९९ मुद्दा फैसला भइसकेको छ भने अझै ४ हजार ३ सय ५६ मुद्दा को फैसला हुन बाँकी रहेको श्रेस्तेदार जोशीले जनाए ।

 


Thali Mobile Pvt.Ltd.