भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

तनहुँमा हावा–हुरीले कागती खेती नष्ट

तनहुँमा हावा–हुरीले कागती खेती नष्ट

दमौली । केही दिनदेखि आएको हावा–हुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा  नोक्सान पुर्याएको छ । स्थानीयवासी  राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो ।

२६ रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावा–हुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने, ‘हावा–हुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।’ कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे ।

चार वर्ष कोरिया बसेर फर्किएका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म रु ३५ लाख लगानी भएको उनले बताए । अघिल्लो वर्ष रु पाँच लाखको कागती बिक्री गरेकामा यस वर्ष रु २५ लाखको बिक्री गर्ने लक्ष्य थियो ।

उनले भने, ‘कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावा–हुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।’ कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावा–हुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

‘हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उहाँहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए । उनले भने, ‘कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गरेका थिए, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।’
पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जिल्लाभरको हावा-हुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, ‘हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।’

व्यास नगरपालिकाले हावा–हुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावा–हुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.