भर्खरै : Sorry, your browser does not support inline SVG.

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

तीन लाख पशुमा पूर्णखोप लगाइँदै

दमौली । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भने, ‘विज्ञ केन्द्रको वार्षिक कार्यक्रमअनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौँ । आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।’

उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुरलगायतको तथ्यांक संकलन गरिएको छ । कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्णखोप लगाइँदैछ । ‘सात पालिकाबाहेकका ऋषिङ , घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकताअनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआरलगायतका खोप अभियान पनि सञ्चालनमा छ’, उनले भने।

पूर्णखोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ । कुनै वडामा दुई खोपकर्ता परिचालित छन् । सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए। ‘सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्णखोपका लागि परिचालन गरिएको छ’, उनले भने ।

उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्णखोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरु पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ । जिल्लाको म्याग्देका ६८६ गाईगोरु, एक हजार १८३ भैँसी, सात हजार ७५० बाख्रा, एक हजार २९५ सुँगुर बङ्गुर, ६५२ कुकुर र ८३ बिरालोलाई पूर्णखोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए ।

म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ । ‘एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्णखोप लगाइसक्छौँ’, उनले भने। गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्राम रोग निर्मूल पार्ने योजना बनाएको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.