काठमाडौं । देशकै उदाहरणीय नगरपालिकाकाे उपमा पाउँदै स्थानीय तहमा अब्बलता कायम गरेकाेमा भक्तपुर नगरपालिका ‘नागरिक नायक २०८०’ बाट सम्मानित भएको छ । नेपाल रिपब्लिक मिडियाकाे १५ औं वार्षिकोत्सवका अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरी नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएको भन्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई ‘नागरिक नायक’ सम्मान प्रदान गरेको हो ।

नागरिक नायकवार्षिकोत्सवको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ३ जनालाई नागरिक रिपब्लिक मिडियाले नागरिक नायकको सम्मान प्रदान गरेको जनाएको छ ।
भक्तपुर नगरपालिकाको तर्फबाट सम्मान ग्रहण गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको सफलता नेमकिपाका अग्रज नेता कार्यकर्ताले दशकौंदेखि इमान्दारीपूर्वक गर्दै आएका कामकै देन भएको बताए ।
उक्त सम्मानलाई भक्तपुरका जनताले गरेको कामको सम्मानको रुपमा आफुले लिएको प्रजापतिले बताए । भक्तपुरका जनप्रतिनिधिहरुको निःस्वार्थ देश र जनताको सेवा गर्ने भावनाले गर्दा नगरपालिकाले नविन अभ्यासहरु गर्न सफल भएको उनकाे तर्क छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमाण बिजुक्छेले २०५६ सालतिर १५ वर्ष भित्र एक घर एक स्नातकको घोषणा गरेकाे भन्दै भक्तपुरमा शैक्षिक परिवर्तन भएको उल्लेख गरे । हाल ८ वटा कलेज नगरपालिकाले सञ्चालन गरी देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिए । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको र ढिलोचाडो विश्वविद्यालय सञ्चालनको स्वीकृति पाउने मेयर प्रजापतिले बताए ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले १०० वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्ने आधारहरु निर्माणमा भक्तपुर नगरपालिका अग्रसर रहेको प्रमुख प्रजापतिको भनाइ छ । सम्पदा पुनःनिर्माण र विकास निर्माणमा विदेशीको सहयोग अस्वीकार गरेको भक्तपुर नगरपालिका देशकाे एकमात्र स्थानीय तह भएकाे प्रजापतिले बताए ।
जनताकै साथ र सहयोगमा अघिल्लो कार्यकालमा मात्र भूकम्पबाट भत्केका १२४ वटा सम्पदा र दोस्रो कार्यकालको ११ महिनामा १४ वटा भन्दा बढी सम्पदा पुनःनिर्माण गरी सकेको, हाल २१ वटाभन्दा बढी सम्पदा निर्माणाािधन अबस्थामा रहेको भन्दै गौरवको अनुभूति सुनाए ।
नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै देश र समाजको निःस्वार्थपूर्वक सेवा गर्ने व्यक्ति नै समाजको नायक भएको बताइन । कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले स्वागत व्यक्त गरेकी थिइन । कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ र लैंगिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मी घलानलाई पनि नागरिक नायक २०८० ले सम्मान गरिएको थियो ।
