२० बैशाख २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नयाँ समिकरण सुरु भएको छ ।
पार्टी भित्र चुलिएको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यबोकेर शनिबार सुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी फेरि सँगै राखिएको दृश्य देखियो ।
पार्टी भित्रको आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन यो बैठक निर्णायक हुने नेताहरुले बताएका छन् । सचिवालयका सबै सदस्य उपस्थित रहेको स्रोतले जनाएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा ‘बादल’सँग भेट गरेका थिए।
बैठक अघि प्रधानमन्त्री ओली शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, महासचिव पौडेल, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य बादलसँगको छलफलपछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा आफ्नै निरन्तरता दिने बताइएको छ ।
उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बोलाइएको भनिएपनि शनिबारको भेटवार्ताले त्यो समिकरण तोडिएको देखाएको छ ।